धरान । धरान–४ वसन्तटार क्षेत्रमा कुकुरको टोकाइबाट मरेका गाईबस्तुमा रेबिज लागेको पुष्टि भएको छ । पुस १८ गते त्यस क्षेत्रका झण्डै २० वटा गाईबाख्रालाई कुकुरले टोकेको थियो ।
हालसम्म ६ वटा पशु मरिसकेको धरान उपमहानगरपालिका पशु सेवा कार्यालयका पशु डाक्टर बिर्खराज राईले जानकारी दिए । त्यसबेला कुकुरलाई रेबिज लागेको नलागेको पुष्टि हुन नसके पनि काठमाडौंस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा मृत भएका पशुको नमुना सङ्कलन गरी पठाइएको थियो । उक्त नमुना परीक्षण गर्दा रेबिज लागेको पुष्टि भएको छ ।
कुकुरले टोकेलगत्तै कार्यालयबाट खटिएका पशु डाक्टरको टोलीले रेबिजविरुद्धको खोपसमेत लगाएको उनले जानकारी दिए । तर, तीन डोज लगाएपछि केही पशुहरू भकाभक मर्न थालेका थिए । सुरुमा विराटनगरस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा नमुना पठाइएको थियो । तर, उक्त नमुनामा रिपोर्ट नेगेटिभ आएपछि पुनः त्यहाँबाट काठमाडौं पठाएपछि मात्रै पुष्टि भएको डा= राईले बताए । उनले भने, ‘हामीले माघ ६ गते विराटनगरको प्रयोगशालामा नमुना पठाएका थियौं, र्यापिड टेष्ट गर्दा नेगेटिभ आयो, त्यहाँबाट काठमाडौं पठाएपछि फ्याट टेष्ट -फ्लुरिसेन्ट एण्टीबडी टेष्ट_ गर्दा पोजेटिभ आयो ।’
रेबिज पुष्टि भएपछि उक्त क्षेत्रमा कति प्रभावित बने भन्ने यकिन तथ्याङ्क आउन सकेको छैन । कुकुरले टोकेको ११ दिनपछि दुईवटा पशु मरेका थिए । पशुको नमुना सङ्कलन गरेर पठाइएको थियो । रेबिज लागेपछि नसालाई प्यारालाइसिस गरिदिन्छ । लिसा नामक भाइरसबाट रेबिज लाग्छ । रेबिज लागेको पशुपंक्षीलाई खाली हातले छुदा वा समात्दा मान्छेमा पनि रेबिज सर्ने सम्भावना हुने भएकाले पशु धनीहरूलाई सचेत रहन आग्रह गरिएको उनले बताए ।
उनका अनुसार धरानमा सम्भवत पहिलो पटक रेबिज पोजेटिभ देखिएको हो । ‘यसअघि पुष्टि भएको थियो, थिएन मलाई थाहा भएन, तर सम्भवत पहिलो हुनुपर्छ’ उनले भने । टोकेका पशुहरूलाई ‘पोष्ट बाइट भ्याक्सिन’ दिइरहेको उनले बताए । रेबिज लागीसकेपछि उपचार सम्भव नहुने पशु डाक्टरको भनाइ छ । रेबिजको सुई ५ डोज दिइन्छ । रेबिज लागेको पशु वा मानिस १० दिनभित्रै मृत्यु हुने उनको भनाइ छ ।