अस्पतालमा उपचारका लागि पुुग्ने बिरामीहरूमध्ये कतिपयको उपचारका क्रममा मृत्यु हुन्छ । कतिपयको चिकित्सकहरूले राम्रोसँग उपचार गर्दागर्दै पनि ज्यान जान्छ भने कतिपयको उपचारमा भएको लापरबाहीले अकालमै ज्यान जान्छ । तर, अस्पतालमा उपचारका क्रममा सामान्य अवस्थाका बिरामीको मृत्यु हुँदा आन्दोलन र तोडफोडसम्मका घटना हुने गरेका छन् । सामान्यतया अस्पतालहरू सेवामूलक संस्था हुन् । तर, पछिल्लो समय अस्पताल सेवाभन्दा व्यापार बढी हुने संस्थाका रूपमा विकास भइरहेका छन् । आफूले उपचार गर्न नसक्ने बिरामीलाई पनि पैसाको लोभले जबरजस्ती उपचार गर्न खोज्दा पनि कतिपय बिरामीको मृत्यु हुने गरेको छ । व्यापारका लागि जे पनि गर्न तयार त्यस्ता अस्पतालहरूका कारण राम्रो गर्न खोज्ने अस्पताल र चिकित्सकहरूमाथि पनि आम मान्छेको विश्वास गुम्ने अवस्था सिर्जना हुन्छ । 

धरानको विजयपुर अस्पतालमा पित्तथैलीको अप्रेसन गर्नका लागि भर्ना भएकी इटहरी, तरहराकी ३१ वर्षीया दीपा राईको मृत्यु भएपछि आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन् । बिरामीका आफन्त र अस्पताल प्रशासनको भनाइअनुसार बिरामीको शल्यक्रिया हुनुअघिसम्म चेकजाँच गर्दा सबै अवस्था सामान्य थियो । तर, शल्यक्रियापछि उनको अवस्था बिग्रिएको बिरामीका आफन्तको भनाइ छ भने अस्पताल प्रशासनले शल्यक्रियाको २४ घण्टापछि मुटुको समस्या देखिएको बताएको छ । अस्पतालका चिकित्सक डा.राजेन्द्रप्रसाद दासले बिरामीको शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि रगत धेरै गएको भनेर आफन्तलाई रगतको व्यवस्था गर्न लगाएको र बिरामी झनै सिकिस्त भएपछि डा.दास आफैले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएका थिए । बिरामीको मृत्यु भएको थाहा पाएपछि आत्तिएका डा.दास आफन्तलाई भने ‘सुधार भइरहेको’ भन्दै बिरामीको स्वास्थ्य राम्रो होस् भन्ने कामना गर्न मन्दिर पुगेर आउँछु भनेर अस्पतालबाट हिँडेको बताइएको छ । जे–जसरी भए पनि उपचारका क्रममा बिरामीको मृत्यु हुनु दुःखद् हो । यसको उचित छानबिन हुनु जरुरी छ । विजयपुर अस्पतालमा यसअघि पनि यस्तै प्रकृतिका घटना भएका थिए । यसरी एउटा अस्पतालमा उपचारका क्रममा मृत्यु हुने घटना पटक–पटक दोहोरिइरहनुलाई अस्पतालले पनि गम्भीर रूपमा लिएर छानबिन गर्नुपर्छ । यस्तो घटनालाई सामान्य रूपमा लिइनु हुँदैन । 

कुनै पनि बिरामी अस्पताल किन जान्छ ? अवश्य पनि रोगबाट मुक्त हुन अर्थात् निको हुन । तर, निको हुन गएको बिरामीको शव घरमा आउँदा आफन्तलाई नराम्रो लाग्छ नै । हुन त कुनै पनि चिकित्सक वा अस्पतालले बिरामीको मृत्यु चाहेका हुँदैनन् । सकेसम्म निको भएर फर्किउन् भन्ने नै हुन्छ, उनीहरूको चाहना पनि तर, कतिपय अवस्थामा बिरामीको मृत्यु हुने गर्छ । बिरामीको अवस्था पहिले नै गम्भीर रहँदा त आफन्तले पनि लापरबाही भएको आरोप त्यति धेरै लगाएको पाइँंदैन तर, अन्य कुरा सामान्य अवस्थामा रहेको र उपचारका लागि हाँस्दै अस्पताल पसेको बिरामी शवका रूपमा फर्किंदा आफन्तले लापरबाहीको शङ्का गर्नु पनि स्वभाविकै हो । कतिपय अवस्थामा अस्पताल र चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु हुने गरेका घटना सार्वजनिक भएका कारण पनि यस्तो शङ्कामा बल पुग्छ । त्यसैले यस्ता घटनाको वास्तविकता थाहा पाउनु आवश्यक हुन्छ । त्यसका लागि उचित छानबिन गर्नु जरुरी छ । प्रहरी प्रशासनले मात्र होइन, स्वयम् अस्पतालहरूले पनि यस्ता विषयमा छानबिन गरेर वास्तविक कुरा बाहिर ल्याउनसके भविष्यमा स्वास्थ्य संस्था र चिकित्साकर्मीहरूप्रति आम जनताको विश्वास बढ्छ । तर, अस्पतालहरूले यस्ता घटनालाई सामान्य ठानेर वा बदनाम हुने डरले ढाकछोपमा लागे जनविश्वास गुम्दै जान्छ । त्यसो हुनु समग्र स्वास्थ्य क्षेत्रका लागि पनि राम्रो होइन ।