विराटनगर/ विराटनगर–धरान हुँदै किमाथाङ्का जोड्ने निर्माणाधीन ६ लेनको सडक निर्माणको क्रममा सुनसरीको दुहबीका स्थानीयले ‘बिल्टअप’ क्षेत्रको संरचना नभत्काउन माग राखेका छन् । 

दुहबी बिल्टअप एरिया सङ्घर्ष समितिले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी सरकारले दुहबीको ६ सय ३० मिटर बजार क्षेत्रलाई बिल्टअप क्षेत्रका रूपमा घोषणा गरी राजपत्रमा प्रकाशित गरेको हुनाले उनीहरूले नभत्काउन माग राखेका हुन् ।

‘पूर्वाञ्चलको ऐतिहासिक बजारको रूपमा दुहबी स्थापित भएको छ’ सङ्घर्ष समितिको उपाध्यक्ष बीपी रौनियारले पत्रकार सम्मेलनमा भने, ‘ऐतिहासिक बजार भएको कारणले गर्दा दुहबीको ६ सय ३० मिटर क्षेत्रलाई तत्कालीन सरकारले २०५४ चैत ३ गते बिल्टअप क्षेत्रको रूपमा घोषणा गरी राजपत्रमा समेत प्रकाशित भएको छ । अहिले ऐतिहासिक बजार क्षेत्रलाई राज्यले भत्काउने तयारी गरेको छ ।’

उनले कुनै हालतमा पनि राजपत्रमा प्रकाशित भएको बिल्टअप क्षेत्रको संरचना भत्काउन नहुने उनले बताए । ‘हामीले ऐतिहासिक बजार क्षेत्रको संरचनाहरू नभत्काएर वैकल्पिक सडकहरू निर्माण गर्न सरकारी निकायलाई सुझाव दिएका थियौं’ सङ्घर्ष समितिका उपाध्यक्ष रौनियारले भने, ‘हामीले दिएको सुझावलाई बेवास्ता गर्दै अहिले सडक विभागले पुस १८ गते बिल्टअप क्षेत्रका घरहरू हटाउन सूचना प्रकाशित गरेको छ ।’

बिल्टअप क्षेत्रमा सडक विस्तार गर्न नमिल्ने भएकोले स्थानीयको मागलाई बेवास्ता गरी निर्माण प्रक्रियाको काम अगाडि बढाए अन्दोलनमा उत्रिने उनले चेतावनी दिए । बिल्टअप क्षेत्रमा २ सय ५४ घर रहेका छन् । यस क्षेत्रमा सडक विस्तार भएको खण्डमा सबै घर भत्किएर स्थानीयको उठिबास हुने बिल्टअप सङ्घर्ष समितिका सदस्य शङ्कर रौनियारले बताए ।

त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार दुहबी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि दायाँ–बायाँ दुवैतर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो । त्यहाँ पुरानो सरकारको निर्णयलाई अहिलेको सरकारले परिवर्तन गर्दा मात्र सडक विस्तार सम्भव हुने उनले बताए । 

बिल्टअप क्षेत्रको कारणले गर्दा दुहबी बजारमा लामो समयदेखि सडक विस्तारमै समस्या रहँदै आएको छ ।  यही समस्याको कारण विराटनगर–इटहरी सडक –खण्डको दुहबी बजार क्षेत्रमा दुई किमी ठेक्का लाग्न नै बाँकी थियो ।