भण्टाबारी। सुनसरीको वराहक्षेत्र नगरपालिका– ६ का रामबहादुर थापा उमेरले ८१ वर्ष पुगे । उनी कोशी प्रोजेक्टका पूर्व कर्मचारी अर्थात् भारतीय पेन्सनधारी हुन् ।
‘कैयौंपटक वडादेखि जिल्ला प्रशासन कार्यालयसम्मको सिफारिस लिएर धाउने गरेको छु’ उनले भने, ‘तर, सधैँ भारतीय एसएसबीले सीमानाकाबाटै फर्काउने गर्छन् ।’ पेन्सनबापत पाउँदै आएको रकम समयमा नपाउँदा जीविका चलाउन समस्या हुँदै आएको उनी बताउँछन् । थापा मात्रै होइनन्, विगत १० महिनायता सीमानाका बन्द हुँदा दर्जनौं पेन्सनधारीले पेन्सनबापतको रकम पाएका छैनन् ।
नेपाल–भारतबीच रहेको खुला सीमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भन्दै सीमानाका बन्द हुँदा भारती सेना र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपालीले पेन्सनबापतको रकम पाउन सकेका छैनन् । पेन्सनबापत आउने रकम बैङ्कमार्फत् दिइने भएकोले नाका बन्द हुँदा भारत जान नपाउँदा उनीहरू समस्या परेका हुन् ।
पेन्सनकै भरमा गुजारा चलाउने गरेको बताउँदै अर्का पेन्सनधारी ७६ वर्षका चन्द्रबहादुर मगरले घरपरिवार चलाउन समस्या भएको बताए । ‘पेन्सनधारीलाई नाका बन्द हुँदा खान, लाउन, औषधि उपचार गर्न पैसा बन्दोबस्त गर्ने समस्या भएको छ’ उनले भने, ‘नाका खोल्न सरकारले वास्ता गरेको छैन । चोरबाटो हुँदै भारत पुगेका केही व्यक्तिले पेन्सनबापतको रकम पाए पनि आफूजस्ता दर्जनौं व्यक्तिलाई भारतीय एसएसबीले सीमानाकाबाटै फर्काउने गरेको उनले बताए ।
मगरले भने, ‘सीमानजिकै घर हुने केही साथीले एसएसबीबाट लुकेर भारत गएकाले रकम बुझेका होलान् तर, मजस्ता टाढाबाट आउनेलाई भने एसएसबीले जान दिएका छैनन् ।’ नाका खोलेर पेन्सनबापतको रकम बुझ्ने माहोल बनाइदिन उनीहरूको आग्रह छ । दिनहुँजसो दर्जनौं पेन्सनधारीलाई सीमाबाट फर्काउने गरेको बताउँदै सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर भूवन खड्काले सशस्त्र प्रहरीले उनीहरूका समस्या बुझ्दै जान दिए पनि भारतीय पक्षले फर्काउने गरेको बताए ।
‘बुढेसकालमा टाढा–टाढाबाट पेन्सनधारीहरू भारत जाने र रकम बुझ्ने आशामा आएका हुन्छन्’ उनले भने, ‘तर, जान नदिएपछि रित्तो हात फर्कन्छन् ।’ आफूहरूको लेभलबाट सीमानाका खुलाउने विषय सम्भव नहुने भएकोले आएको आदेश कार्यान्वयन गराउनेदेखि भएको कुरा रिपोर्टिङ गर्नुबाहेक अरू केही गर्न नसकिने इन्स्पेक्टर खड्काको भनाइ छ । यता जिल्ला प्रशासन कार्यालय सुनसरीले बन्द रहेको सीमानाका खुलाउन प्रयासरत रहेको बताएको छ । दुवै पक्षको निर्णय भएपछि सीमानाका खुल्ने सुनसरी प्रशासनले जनाएको छ ।