विजयपुर/ कोशी परियोजनामा कार्यरत नेपाली तथा भारतीय ठेकेदार कम्पनीहरूले बोलपत्र मूल्यको दर सुधारको माग गर्दै भारतको बिहारस्थित वीरपुर र पटना जलसंसाधन विभागमा आन्दोलन गरिरहेका छन् । 

कोशी परियोजनाले गर्ने २ वटा कामहरूमध्ये बाढी रोकथाम गर्न पहिले नै गरिने काम (एनटी इरोजन) का लागि भारतीय सरकारले (डिसेम्बर १८ देखि २३) मङ्सिर २५ देखि पुष ८ गतेसम्म न्यूनतम् दरमा बोलपत्र आह्वान गरेको थियो । न्यूनतम् मूल्यमा ठेक्का आह्वान गरेपछि बहिष्कार गरी आन्दोलित बनेको ठेकेदार कम्पनीहरूले बताए ।

कोशी सम्झौताअनुसार आर्थिक तथा प्राविधिक लगानी भारतीय सरकारको भए तापनि काम गर्न नेपाली ठेकेदारलाई प्राथमिकता दिनुपर्ने प्रावधान छ तर, अहिले नयाँ नीति अख्तियार गरेर गत वर्षभन्दा न्यूनतम् दरमा ठेक्का आह्वान गरेको छ । न्यूनतम् प्रणालीबाट बोलपत्र आह्वान गरेपछि ठूला र भारतीय निर्माण कम्पनीहरू नै हाबी हुने भन्दै आन्दोलनमा उत्रिएको दीपज्योति निर्माण सेवाका सञ्चालक खगेन्द्र दाहालले बताए । उनले भने, ‘न्यूनतम् मूल्य प्रणालीको विरुद्धमा भारतीय ठेकेदार कम्पनीहरूको पनि ऐक्यबद्धता छ ।’

उनीहरूले नेपालको बैङ्क ग्यारेण्टीलाई पनि मान्यता दिनुपर्ने माग राखेका छन् । नेपालमा दर्ता भएर सञ्चालन भएका कम्पनीहरूले नेपालमै काम गर्न भारतीय बैङ्कको ग्यारेण्टी देखाउनु पर्ने बाध्यात्मक अवस्था रहेकोले पनि आन्दोलन गरेको दाहालले बताए । उनले भने, ‘नेपालमा काम गर्नलाई भारतमा किन बैङ्क ग्यारेण्टी हुनुप¥यो, बैङ्क ग्यारेण्टी जहाँको भए पनि काम गर्न पाउनुपर्छ, नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

ठेकेदार कम्पनीहरूले हाल बक्यौता रहेको नेपाल सरकारको राजस्व पनि भुक्तानी गर्नुपर्ने माग राखेका छन् । ‘मूल्य अभिवृद्धि कर (भ्याट) र रोयल्टीबापतको राजस्व भारतीय सरकारले रोकिदिने तर, त्यसको मारमा कोशी परियोजनामा काम गर्ने ठेकेदारहरू पर्ने भएकाले राजस्व भुक्तानीको पनि माग राखेका हौं’ –दाहालले भने । आफूहरूले राखेका माग भारत सरकारले पूरा गर्नुपर्ने उनले बताए । त्यसो हुँदा मात्रै काम गर्न सक्ने वातावरण हुने र काममा फर्किने उनले बताए । सरकारको बक्यौता राजस्व भुक्तानीका लागि भारतीय कम्पनीले पनि माग राखेको दाहालले बताए । राजस्व भुक्तानी नगर्दा भारतीय निर्माण कम्पनी पनि दोहोरो मारमा नै पर्ने गरेका छन् । 

दाहालले नेपालका ५० वटाभन्दा माथि निर्माण कम्पनी र भारत बिहारका सबै निर्माण कम्पनीहरू आन्दोलनमा उत्रिएको बताए । उनले भारतीय आन्दोलनरत निर्माण कम्पनीहरूलाई उद्धृत गर्दै भने बिहारका सडक, विद्युत्लगायत सबै निर्माण कम्पनीहरू आन्दोलनमा आएका छन् । ‘त्यसैको विरुद्धमा हामी आन्दोलित भएको हौँ । संसाधन विभागले केही सम्बोधन गर्छौं भनेको छ’ उनले भने, ‘तर हाम्रा मागहरू पूर्ण सम्बोधन नभएसम्म निरन्तर आन्दोलन गर्छौं ।’

कोशी परियोजनाले गर्ने २ वटा काममध्ये बाढी रोकथाम गर्न पहिले नै गरिने काम (एनटी इरोजन) र आकस्मिक रूपमा गरिने काम (फल्ड फ्लाइडिङ) छ । त्यसमा एनटी इरोजन कामको लागि बोलपत्र आह्वान गरेको कोशी परियोजना सम्पर्क तथा भू–आर्जन कार्यालय विराटनगर अधिकृत सन्तोष चोङ्बाङ (लिम्बू)ले जानकारी दिए ।