भण्टाबारी । सशस्त्र प्रहरी महानिरीक्षक आइजीपी शैलेन्द्र खनालले इमानदार र कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन
दिएका छन् । सुनसरी जिल्लाको विभिन्न बिओपीहरुको अनुगमन गर्दै आइजीपी खनालले सीमावर्ती क्षेत्रमा हुने अपराधीक गतिविधि तथा सीमा सुरक्षा गर्न तनमन र वचनका साथ लाग्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका हुन ।
ईमानदार र कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिदै उनले भने तनमन र वचनका साथ काम गरौं अनि मात्र हामी लक्ष्यमा पुग्न सक्छौं । देश र जनताको सुरक्षामा उच्च मनोबलका साथ खटिन मातहतका प्रहरी अधिकृतलाई आइजीपी खनालले निर्देशन दिए ।राष्ट्र,राष्ट्रियता र जनताको हकहितका लागि काम गरिनुपर्ने उल्लेख गर्दै उनले राष्ट्रसेवक कर्मचारी ईमानदार र कर्तव्यनिष्ट भई सुरक्षा,सहयोग तथा उद्धार कार्यमा खटिनुपर्नेमा जोड दिए ।
सुनसरीमा गणको उद्घाटन
सुनसरी सदरमुकाम इनरुवामा सीमा सुरक्षा कार्यालयको रूपमा अवस्थित रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल अब देखि गणको रूपमा स्थापित भएको छ । सीमा सुरक्षा बलबाट अब सशस्त्र प्रहरी बल नम्बर ४ गण हेक्वाका रूपमा स्तरोन्नति भएको डिएसपी राजु दाहालले जानकारी दिए । जसको उद्घाटन आइजीपी खनालले सोमबार गरेका हुन । सीमा सुरक्षा बल हुँदा २३७ जना सशस्त्र प्रहरी बस्दै आएकोमा अबदेखि ६२१ जनाको उपस्थिति रहने उनले जानकारी दिए ।
सीमा सुरक्षा,अपराधीक गतिविधि नियन्त्रण,चोरीपैठारीमा कडाइ गर्न जस्ता निर्देशन आइजीपी खनालले दिएको सशस्त्र प्रहरी सुनसरीका एसपी माधवप्रसाद पौडेलले जानकारी दिए । पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लाको विभिन्न सीमावर्ती क्षेत्रहरूमा चोरीपैठारी बढेको सम्बन्धमा समेत आइजीपी खनालले सशस्त्र प्रहरीलाई त्यसलाई रोक्न कडाइका साथ लाग्न निर्देशन दिएको बुझिएको छ ।
यता एसपी पौडेलले कोरोना महामारीका कारण नेपाल भारतबीच रहेको खुल्ला सीमा सिल रहेको अवस्थामा त्यसो गर्न सम्भव नरहेको दाबी गरे । जनशक्ति र साधन श्रोत अभावका बाबजुद सशस्त्र प्रहरीले सीमा सुरक्षाका साथै कोरोना नियन्त्रणका लागि गरेका कामका बारेमा समेत आइजीपी खनाललाई जानकारी गराइएको थियो ।