भद्रपुर । मेची अस्पताल भद्रपुरले दशजना कर्मचारीलाइ कामबाट निकालेको छ । सरसफाइ कर्मचारीको टेन्डर प्रक्रिया हटाएर अस्पताल प्रशासनले सञ्चालक तथा व्यवस्थापन समितिकै स्वामित्वमा रहने गरी कार्यालय सहयोगी (स्वीपर)ज्यालादारीमा नियुक्त गरेपछि उनीहरु बिचल्लीमा परेका हुन् ।

अन्दाजी ५० वर्षीय देवकली पासवानसहित ७ देखि १६ वर्षसम्म अस्पतालकै सरसफाइको काम गर्दै आइरहेका दश परिवारको एकैचोटी जागिर गएको छ । 

अस्पताल प्रशासनले १४ जना कार्यालय सहयोगी (स्वीपर) नियुक्त गरेसँगै उनीहरु वेरोजगार भएका छन् । श्रीमान् नभएकी देवकली दुई छोरी, एक छोरा र नातिनातिना लिएर भाडा घरमा बस्दै आएकी छन् । पन्ध्रसय तलब हुँदा अस्पतालको सरसफाइ काममा छिरेको बताउँदै उनले भनिन्, ‘अहिले ६ हजार ८ सय तलब पाउँथे, त्यही रकमले जसोतसो परिवार चलाउँदै थिएँ, तर अब त्यो पनि नहुने भएपछि कहाँ जानु, कसले काम दिन्छ यो उमेरमा ?’ उनले दुखेसो पोखिन् । अस्पतालले दिदै आएको पुरानै तलबमा काम गर्न मञ्जुर भएको उनीहरुको भनाइ छ ।

मेची अस्पताल भद्रपुरले २०७६ मङ्सिर २४ गते सुरक्षा गार्ड र कार्यालय सहयोगी (स्वीपर) ज्यालादारीमा कर्मचारी आवश्यताको सूचना प्रकाशन गरेको थियो । सूचनामा १५ जना सुरक्षा गार्ड र १४ जना कार्यालय सहयोगी (स्वीपर) को दरबन्दी खुलाएको थियो । दुवै पद गरी एक सय बढीले फाराम भरेका थिए । फारम भर्ने बेलामा पुराना कर्मचारीलाई राख्ने भनेर अस्पताल प्रशासनले सबैलाई आश्वासन दिएको थियो । त्यसपछि त्यहाँ कार्यरत सबै जनाले फाराम भरेर परीक्षामा सामेल भएका थिए । तर, अस्पताल प्रशासनले पुस ७ गते कर्मचारी नियुक्ती भएका उम्मेदवारको नाम प्रकाशन गरेपछि कार्यालय सहयोगी (स्वीपर) पदमा पुराना पाँच जनाबाहेक अन्य कसैको नाम परेको थिएन ।

लामो समयदेखि काम गरिरहेका कार्यालय सहयोगी (स्वीपर)लाई हटाएर छोटो समयका लागि सोर्सफोर्समा जागिर खाने व्यक्तिहरूलाई स्वीपर पदमा नियुक्त गरेको पीडित महिलाहरूको गुनासो छ । अस्पतालमा पुर्जा काट्ने, ओटी वा प्रशासनमा बस्ने, डाक्टरको घरमा भाडा माझ्ने र एउटै परिवारका अन्य सदस्यलाई जागिर दिएको भेटिएको उनीहरू बताउँछन् । 

परीक्षाको बहानामा स्वीपर पदका कर्मचारी नियुक्त गरेर अस्पताल प्रशासनले आफ्नो प्रक्रिया मात्र पूरा गरेको उनीहरुको आरोप छ । यो पहिला देखि नै सेटिङ भएको उनले बताइन् । स्वीपर पदमा पुर्जा काट्ने, भाडा माझ्ने, अस्पतालमै जागिर खाइ रहेका सदस्यका परिवारलाई जागिर दिएको उनले बताइन्  । हाल नयाँ नियुक्ती भएका बाहेक पुराना रुना हरिजन र किरण हरिजनले मात्र सम्पूर्ण अस्पतालको सरसफाइ गरिरहेकोे उनीहरुको भनाइ छ । बिहान ८ देखि दिउँसो २ बजेसम्म सरसफाइको काममा खटाइएको र अन्य कर्मचारी बिहान १० बजे आउने, अस्पतालको काम गर्ने अनि जाने मात्र गरिरहेको उनीहरुकले बताए ।  

अस्पतालले कार्यालय सहयोगी (स्वीपर) ज्यालादारीमा खेमकुमारी दास, जानुका पौडेल, नवीन सिंह, जीवनकला कुइँकेल, राधा तामाङ, निर्मला, महत, सपना बोहोरा महत, किरण हरिजन, अशोक जमदार, कुमारी हरिजन, रुना हरिजन, रानी कामती, सुमित्रा लिम्बु, र कला राईलाई नियुक्त गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले सरसफाइको ठेक्का लगाउँदा ठेकेदारले २९ जना स्वीपरलाई  सरसफाइको काममा खटाएको अस्पतालका मेडिकल सुपरीटेण्ड डाक्टर पीताम्बर ठाकुरले बताए । ठेकेदारले खटाएका स्वीपरले राम्रो काम नगर्ने र आर्थिक भार पनि बढेर गएकोले यसबर्षदेखि सरसफाईको जिम्मा समिति तर्फ ल्याइएको डा. ठाकुरले बताए ।

सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनुपर्ने भएकोले सङ्ख्या घटाउनु परेको उनको भनाई छ । उनका अनुसार कर्मचारी छनोट प्रक्रियामा गएकामध्ये योग्य व्यक्तिलाई नै छनौट गरिएको हो । हाल कामबाट वञ्चित भएकालाई बिस्तारै पुर्नथापना गरिने उनले बताए । एउटै परिवारका धेरै व्यक्तिलाइै जागिर दिएको भन्ने विषयमा खुला प्रतियोगिता भएकोले योग्य व्यक्ति आएको हो समितिले गरेको निर्णय भन्दा बाहिर जान नमिल्ने उनको भनाइ थियो ।