भद्रपुर/ सशस्त्रका आइपीजी शैलेन्द्र खनालले सीमा सुरक्षा कार्यालयबाट गणमा परिणत भएको दुई बर्षपछि सशस्त्र प्रहरी बल नम्बर २ गणको हेडक्वाटर उद्घाटन गरेका छन् । आइतबार झापा आएका उनले गण उद्घाटनपछि सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दार, अनुशासित र बफादार भई नागरिकको सेवा, सुरक्षामा उच्च मनोबलका साथ सहयोग गर्न निर्देशन दिएका थिए ।
उनले सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको जिम्मेवारी ठूलो रहेकाले देश र जनताप्रति दृढ सङ्कल्प भई सच्चा राष्ट्रसेवकको कर्तव्य निर्वाह गर्न आग्रह गरेका थिए ।
वि.सं. २०७५ मा मन्त्रिीपरिषदद्वारा स्वीकृत सीमा सुरक्षा कार्यालयका रुपमा रहेको कार्यालयको स्तरोन्नति गरी गणमा परिणतसहित जनशक्ति थप गरेको थियो । गणमा थप जवान व्यारेक, महिला व्यारेक, जवान मेस, कार्यालय र ठूलो सभाहलसहितका भौतिक संरचना निर्माण भएको सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वाटरका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।
आइजीपी खनालले काँकडभिट्टा, पुथ्वीनगर, कचनकवललगायतका विओपीहरुको स्थलगत निरीक्षणसहित स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम र जिल्लाका सुरक्षा समितिका पदाधिकारीसँग जिल्लाको समग्र बस्तुस्थितिको बारेमा जानकारी लिएको उनले जनाए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण प्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो । तराईका जिल्लामा २३७ जनाको सङ्ख्यामा रहने गरी स्थापना भएका सीमा सुरक्षा कार्यालयहरु आईजीपी खनाल नियुक्त भएपछि साङ्गठनिक पुनसंरचनाका लागि तयार गरिएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५ नेपाल सरकार मन्त्रिपरिषद्धारा स्वीकृत भए पछि ६२१ जनाको सङ्ख्यामा रहने गरी गणको स्तरोन्नति भएको थियो ।