बराहक्षेत्र / बराहक्षेत्र–१ चतराकी सर्पदंश पिडित ५० वर्षीया गंगादेवी राई (तामाङ्ग)को परिवारले  उनको जीवन रक्षाका लागि सहयोगको आग्रह गरेको छ । 

२०७५ भदौ १२ गते सर्पले टोकेपछि उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएकी उनी निको हुनुको साटो थला परिन् । गंगाकी छोरी प्रतिक्षा तामाङ उपचारमा बीपी प्रतिष्ठानका चिकित्सकले ढिलाई गरेपछि यस्तो समस्या आएको दाबी गर्छिन् । उनले जीवन मरणको दोसाँझमा रहेकी आमाको जीवन रक्षाको लागि उपचार खर्च जुटाईदिन र अस्पतालसँग क्षतिपूर्ति दिलाईदिन आग्रह गरेकी छन् ।

प्रतिक्षाले बीपी प्रतिष्ठानका तेस्रो वर्षमा अध्ययनरत डाक्टरले सामान्य भन्दै उपचारमा ढिलो गर्दा मस्तिष्कमा अक्सिजन नपुग्ने र श्वास लिन नसक्ने अवश्था रहेको बताईन् । उनले भनिन् ‘ डाक्टरले आत्तिनु पर्दैन् । नर्मल हो भन्दै सामान्य औषधी दिए । त्यहि कारण आमाको मुटु संकुचनमा अवरोध भएपछि विराटनगरको अस्पतालमा रेफर गरिदिए ।’

विराटनगरमा २ महिना भेन्टीलेटरमा राखेर उपचार गराएपछि अवस्थामा केही सुधार भएको तर निको नभएको उनले बताईन् । छोरी प्रतिक्षाले क्षतिपूर्तिको माग गर्दै २०७५ कार्तिक १४ गते बीपी प्रतिष्ठानका अस्पताल निर्देशक गौरीशंकर साहलाई निवेदन दिएको तर अस्पतालले डाक्टरलाई भगाएको बताईन् । उनले भनिन्, ‘मैले मेडिकल काउन्सिललाई पनि उजुरी दिएँ । त्यसपछि बीपी प्रतिष्ठानसँग आकस्मिक कक्षमा राखेर उपचार गराउने र पिडितलाई सम्पूर्ण उपचार खर्च र आवश्यक समाग्री उपलब्ध गराउने माघ ११ गते सहमति भयो । तर अस्पतालले प्रहरी लगाएर विरामी घरै लैजान दबाब दियो ।’

गंगादेवीलाई सर्पले टोकेको ३ वर्ष हुनलाग्यो । उपचारमा हालसम्म करिब ८० लाख सकिएको छोरी प्रतिक्षाले बताईन् । तर गंगादेवीको अवश्था जस्ताको तस्तै छ । उनका हात खुट्टा चल्दैनन् । दिशा पिसाब ओछ्यानमै गराउनुपर्छ । उनी बोल्न पनि सक्दिनन् । टुलुटुलु हेर्नु र सामान्य मल्हम औषधी लगाईदिने बाहेक केहीगर्न नसकेको उनले बताईन् ।

प्रतिक्षाले बिरामी आमाको उपचारमा सबै सकिएको र अहिले दैनिक खर्च टार्नै धौ धौ परेको बताईन् । उनी भन्छिन्, ‘छिटै उपचार गराउन सके आमा निको हुनुहुन्थ्यो होला तर खर्च २० लाख जति लाग्ने डाक्टरले बताएका छन् । कहाँबाट ल्याउनु अब त्यत्रो पैसा ?’