इटहरी/ मादक पदार्थ सेवन (मापसे) सेवन गरेको नगरेकोबारे थाहा पाउने यन्त्र ब्रेथलाइजर प्रदेश १ मा अभाव भएको ट्राफिक कार्यालयले जनाएको छ । जसका कारण मापसे गरे नगरेको विषयमा ‘मुख सुँघेर’ थाहा पाउनुपर्ने बाध्यता रहेको ट्राफिक प्रहरी बताउँछन् । 

ब्रेथलाइजर अति आवश्यकीय यन्त्र भए पनि हाल अभाव रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता सुमन तिम्सिनाले जानकारी दिए । ‘पर्याप्त ब्रेथलाइजर नहुँदा समस्या भएको छ’ प्रवक्ता तिम्सिना भन्छन्, ‘छेउमै गएर सुँघ्ने बाध्यता छ ।’ कोरोना महामारीका कारण यतिबेला भने मुख सुँघ्ने कार्य बन्द गरिएको छ । ब्रेथलाइजर नहुँदा हाउभाउ र व्यवहारबाट मापसे गरे नगरेको खुट्याउने गरेको डिएसपी तिम्सिना बताउँछन् । ‘अहिले मापसे गर्नुभएको छ ? भनेर सोध्नुको विकल्प छैन’ –प्रवक्ता डिएसपी भन्छन् । उनका अनुसार भएका ब्रेथलाइजर पनि काम नलाग्ने अवस्थामा पुगेका छन् । प्रदेशभरि ४० वटा ब्रेथलाइजर छन् । 

प्रदेश १ ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकिङ सुरु गरेको छ । लामो समयदेखि रोकिएको मापसे चेकिङ प्रदेश १ मा पनि नियमित रूपमा हुन थालेको हो । प्रदेश नम्बर १ ट्राफिक प्रहरीले मापसे चेकिङ र ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथिको कारबाहीलाई तीव्रता दिइने जनाएको छ ।

ट्राफिक प्रहरीले मापसे गरेर सवारी साधन चलाए कारबाही गर्ने भन्दै ठाउँ–ठाउँमा चेकजाँच सुरु गरेको डिएसपी तिम्सिनाले जनाए । ‘कोभिड–१९ को सङ्क्रमण सुरु भएसँगै जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेका थियौं, त्यो अभियान पुनः सुरु गरेका छौं’ –डिएसपी तिम्सिनाले भने । सडकमा नियम उल्लङ्घन र मापसे गरेर सवारी कुदाउनेहरूको सङ्ख्या बढेको भन्दै चेकिङलाई प्राथमिकतामा राखेको डिएसपी तिम्सिना बताउँछन् । 

लकडाउनपछि अहिलेसम्म प्रदेश १ मा १ लाख ३२ हजार ३ सय ७१ वटा सवारी कारबाहीमा परेका छन् । ती सवारीबाट ८ करोड ३३ लाख ३१ हजार जरिबाना उठाइएको छ । त्यस्तै चैत यता २ हजार १ सय १७ जनालाई कारबाही गरेर २१ लाख १७ हजार जरिबाना बापत रकम उठाएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । ‘यसले दुर्घटनामा कमी ल्याउँछ तर, मापसे गरेका सवारी अगाडि चेक देख्दादेख्दै कारबाहीमा पर्न आउँदैन । लाइसेन्स नभएका सवारीचालक जरिबाना तिर्न चेकिङको लाइनमा बस्दैनन् ।ट्राफिक नियमसम्बन्धी कसुर जरिबाना तिरेर छुट्कारा पाउनु हुँदैन’ इटहरी–१९ का राजेश कार्की भन्छन् । इटहरीकै एक कलेजमा कक्षा १२ मा पढ्दै आएका कार्की भन्छन्, ‘ट्राफिक चेकिङ पैसा हुनेलाई सहज छ ।’