विराटनगर/ विराटनगर–१९ की लक्ष्मी साहले पाँच जनाको परिवार विराटनगरको साप्ताहिक हाट बजारमा सब्जी बिक्री गरेर पालनपोषण गर्दै आएकी थिइन् । कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न राज्यले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेपछि उनको व्यापार ठप्प छ । उनी आठ महिना घरमै बसिन् ।
अहिले जनजीवन सामान्य अवस्थामा फर्किएको छ । विगतका दिनहरूमा जस्तै गरी साप्ताहिक हाटबजारमा सब्जी लिएर जाने गर्दछिन् । तर, विराटनगर महानगरपालिकाले साप्ताहिक हाटबजारमा व्यापार गर्ने अनुमति नदिएको कारण उनीहरूको सरसामान नगर प्रहरीले उठाइदिने गरेको छ । व्यापार गर्न नपाएपछि अहिले लक्ष्मी जस्तै विराटनगरको साप्ताहिक हाट बजारमा व्यापार गरेर परिवार पाल्ने एक हजारभन्दा बढी खुद्रा व्यापारी अहिले सडकमा आउनुपरेको छ । उनीहरूको अहिले एउटै माग छ, ‘व्यवस्थित रूपमा विराटनगरमा विगतका दिनहरूमा जस्तै लाग्दै आएको साप्ताहिक हाटबजार लगाउन दिनुप¥यो ।’
‘यहाँका विभिन्न हाटबजारमा सब्जी बिक्री गरी परिवारको गुजुरा चलाउँदै आएको थिएँ’ लक्ष्मीले भनिन्, ‘हाटबजारमा आएर व्यापार गर्न नपाउँदा अहिले परिवार पाल्न मुस्किल भयो । महानगरपालिकाले व्यवस्थित गरेर भए पनि हाटबजार खोलिदिनुप¥यो ।’ लक्ष्मी जस्तै विराटनगरको साप्ताहिक हाटबजारमा व्यापार गरेर परिवार पाल्ने एक हजार भन्दा बढी खुद्रा व्यापारीको बिजोक भएको विराटनगरमा चार दशकदेखि व्यापार गर्दै आएका लक्ष्मण साहले सुनाए । ‘विराटनगरका ६ स्थानमा साप्ताहिक हाटबजार लाग्ने गरेको छ’ चार दशकदेखि विराटनगरमा हटिया गएर व्यापार गर्दै आएका साहले भने, ‘यहाँका हटियामा व्यापार गरेर परिवार पाल्ने हजारौं छन् । अहिले बजार नहुँदा उनीहरू समस्यामा छन् । परिवार पाल्न गाह्रो छ ।’
परिवार पाल्न र छोराछोरीलाई पठन–पाठन गराउन समस्या हुन थालेपछि सयौंको सङ्ख्यामा भेला भएका व्यापारीहरूले सोमबार विराटनगर महानगरपालिका र वडा कार्यालयहरूमा गएर साप्ताहिक हटियामा व्यापार गर्न दिनुपर्ने माग राख्दै ज्ञापन–पत्र बुझाएको विराटनगरका हटियामा व्यापार गर्दै आएका मनिषकुमार महासेठले बताए । ‘अहिले हामीले हटिया लगाउन माग राखेर ज्ञापन–पत्र बुझाएका छौं’ उनले भने, ‘महानगरपालिकाले व्यवस्थित ठाउँ देखाइदिएर व्यापार गर्न दिनुप¥यो । होइन भने यसरी हामीलाई उठिबास लगाउनुभएन ।’ स्थानीय तहले साप्ताहिक हटियामा व्यापार गर्ने वातावरण नबनाए चरणबद्ध आन्दोलनमा उत्रिने उनीहरूको भनाइ छ ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न गत चैतमा सरकारले लकडाउन सुरु गरेसँगै विराटनगरका आधा दर्जन ठाउँमा लाग्दै आएका साप्ताहिक हाटबजार बन्द छन् । अहिले जनजीवन सामान्य अवस्थामा आइसकेको कारणले विराटनगरमा लाग्दै आएका साप्ताहिक हाटबजार खुलाउन माग गरेको विराटनगरको शनिहाटमा वर्षौंदेखि सब्जीको व्यापार गर्दै आएका विराटनगरका मनिष साहले बताए । विराटनगरका सडकहरूमा वर्षांैयता साप्ताहिक हाटबजार लाग्दै आएको छ ।
कोरोना महामारीका कारण बन्द भएका साप्ताहिक हाटबजार सञ्चालनमा महानगरले अनुमति नदिएका कारण आन्दोलनमा उत्रिएको व्यापारी साहले बताए । यसअघि पनि विराटनगर महानगरपालिकाले सडकमा लाग्दै आएका हाटबजार हटाउने निर्णय गरेको थियो । तर, कार्यान्वयन हुन सकेको थिएन । विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले छलफलपछि महानगरपालिकाले थप निर्णय गर्ने बताइन् । आन्दोलनमा उत्रिएका व्यापारीलाई महानगरपालिकाले मङ्गलबार छलफलमा बोलाएको उनले जानकारी दिइन् ।