विराटनगर । गैरकानूनी मानिएको मिटरब्याज धन्दा चलाएर सर्वसाधारणलाई उठिबास लगाएका विराटनगर – ९ घोघापुलचौकका ४५ वर्षिय मन्टु भनिने सञ्जयप्रसाद रौनियार विरूद्ध मोरङ प्रहरीले तीन वटा मुद्दामा चलाउने भएको छ ।
मंसिर २९ मा घरबाट पक्राउ परेका मन्टु विरूद्ध मोरङ अदालतले पक्राउ पूर्जी सदर गरि ‘ठगी, अपराधिक लाभ लिएको र अपराधिक विश्वास घात’ मुद्दामा अनुसन्धान गर्न अनुमति दिएको छ ।
मोरङ अदालतबाट पक्राउ पूर्जी सदर भइ अनुसन्धान गर्न बिहीबार अनुमति पाएको प्रहरीले जनाएको छ । मन्टुलाई मोरङ प्रहरीले शुक्रबार मोरङ अदालतमा तीन वटा मुद्दामा म्याद थप गरि अनुसन्धान गर्ने तयारी गरेको छ । दशी फेला नपरेका कारण मन्टुलाई प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थपी प्रमाण संकलन गर्ने काम गरेको थियो ।
पक्राउ परेका मन्टुलाई जिल्ला सरकारी वकिलका कार्यालयले ठगी र अपराधिक लाभ लिन खोजिएकोलाई एउटै र अपराधिक विश्वास घात मुद्दा छुट्टै अनुसन्धान गर्न प्रहरीलाई राय दिएको छ । ‘मन्टु पक्राउ परेपछि पीडितको उजुरी दिन आउने मोरङ प्रहरी कार्यालयमा लर्को लागेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘धेरै दशी पनि जुटिसकेको छ । हामी सरकारी वकिलको कार्यालयले दिएको रायअनुसार यसको गहन अनुसन्धानमा जुटेका छौं ।’
मिटरब्याजमा लगानी गरि गाउँ र शहरी क्षेत्रका सर्वसाधरणलाई उठिबास लगाउने कुख्यात मिटरब्याजी मन्टुको अनुसन्धानमा मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वको टिम खटेको छ ।
प्रहरीले तीन वटा मुद्दामा अनुसन्धान गरि सरकारी वकिलको कार्यालयमार्फत अदालतमा अभियोग गर्दा गरेपछि सम्पती सुद्धिकरण मुद्दामा पनि अनुसन्धान गरिने तयारी छ । यसअघि पीडितले सम्पती सुद्धिकरण विभागमा जाहेरी दर्ता गराइसकेको हुनाले विभागले प्रहरीलाई अनुसन्धान गर्न अनुमति पाएपछि त्यसतर्फ पनि अनुसन्धान गर्नेछ ।