भण्टाबारी। १५ दिनको अवधिमा मकुना हात्तीले दुईजनाको ज्यान लिएपछि कोशी क्षेत्रका सर्वसाधारण आक्रोसित बनेका छन् ।
कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गली हात्ती मकुनाको आक्रमणबाट मङ्सिर २९ गते खेतमा पानी लगाउँदै गर्दा स्थानीय प्रमोद यादवको मृत्यु भएको थियो भने सोमबार राति मकुनाकै आक्रमणबाट कोशी गाउँपालिका–५ का मोतीलाल कामतको ज्यान गएको हो ।
प्रमोदको मृत्यु भएको दुईहप्ता बित्न नपाउँदै अर्का एकजनाको मकुना हात्तीले ज्यान लिएपछि यसक्षेत्रका सर्वसाधारण आक्रोसित बनेका हुन् । ‘एकपछि अर्को गरी मकुना हात्तीले मान्छे मारिरहेको छ’ स्थानीय विद्यानन्द यादवले भने, ‘तर, आरक्ष प्रशासन भने गम्भीर बनेको छैन ।’ मान्छे मरेपछि आश्वासन दिनुबाहेक अरू ठोस काम नभएको दाबी गर्दै उनले अब सडक सङ्घर्षबाटै हात्तीको स्थायी समाधान गरिने बताए ।
‘यो हात्ती आतङ्क प्रमोद, मोतीलाल जस्ता थप कतिको ज्यान लिएपछि रोकिने हो ?’ –यादवले आक्रोसित हुँदै प्रतिप्रश्न गरे । ‘के मान्छेभन्दा जनावरको महŒव बढी हो ? अनाहकमा भाइ गुमाउनुपरेको पीडा कसलाई थाहा हुन्छ र ?’ सोमबार हात्ती आक्रमणबाट मारिएका मोतीका दाइ श्यामलाल कामतले भावुक हुँदै प्रश्न गरे, ‘सरकारीतर्फबाट साढे १० लाख क्षतिपूर्ति दिने कुरा सुनेको छु, भाइभन्दा ठूलो पैसा हो र ?’ आफ्नो भाइजस्ता अन्य कसैको छोरा वा श्रीमान् गुमाउनबाट रोक्न यथेष्ट कदम चाल्नुपर्ने उनको भनाइ छ । हात्ती आतङ्क रोक्न बहुलाएको मकुनालाई मार्नु वा कोशी टप्पुबाट सार्नुबाहेक अर्को विकल्प आफूले नदेखेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताउँदै आएका छन् ।
नेल लगाउन आदेश कुर्दै आरक्ष प्रशासन
मकुना हात्तीले सोमबार अर्काे एकजनाको ज्यान लिएपछि उपचार गरेर फर्केका प्राविधिक र हात्तीविज्ञ टोली पुनः आएका छन् । हात्तीबारे पिएचडी गरिरहेका अशोक रामको नेतृत्वमा आएको प्राविधिक र विज्ञ टोलीले मकुनालाई नियन्त्रणमा लिन बुधबारबाट उपचार थालेको कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले जानकारी दिए ।
नियन्त्रण गर्न चुनौती थपिएपछि कोशीटप्पु वन्यजन्तु आरक्षबाट रैथाने हात्ती सार्ने तयारी गरेको आरक्ष कार्यालयले बताइसकेको छ । हात्ती मार्न वा सार्न पीडित पक्ष र जनप्रतिनिधिबाट कुरा उठेपनि त्यसो गर्न सम्भव नरहेको उनले बताए ।
कोशीटप्पुमै सार्ने वा अन्तै भन्ने गृहकार्य आरक्ष कार्यालयले गरे पनि त्यसको लागि मन्त्रीस्तरीय निर्णय आवश्यक हुने चौधरी बताउँछन् । नेल लगाउने बारे आफूहरूसमेत सकारात्मक रहेको बताउँदै उनले त्यसो गर्नसमेत विभागको मात्रै नभई मन्त्रीस्तरीय निर्णय अनिवार्य भएको बताए । एक ठाउँबाट अर्को ठाउँमा हात्ती सारेको अभ्यास नेपालमा भएको बारेमा आफू जानकार नभएको बताउँदै वार्डेन चौधरीले हात्ती सार्न भारतबाट क्रेनदेखि प्राविधिक र दक्ष ड्राइभर ल्याउनुपर्ने बताए ।