धरान/कोरोना महामारीका कारण प्रदर्शन र छायाङ्कन रोकिँदै आएको नेपाली सिनेजगत् फेरि जुर्मुराउन थालेको छ । यस क्रममा प्रदेश १ को झापाबाट ‘कृष्णलीला’ को छायाङ्कन सुरु भएको छ ।

निर्माण युनिटले दशैंअघिबाटै फिल्म छायाङ्कन गर्ने घोषणा गरे पनि यसै साताबाट मात्र छायाङ्कन थालेको हो । निर्माण युनिट यतिखेर इलाम पुगेको छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखनमा फिल्म बनिरहेको छ ।

फिल्मको ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको स्वच्छन्द गीत पनि छायाङ्कन गरिएको छ । कार्यकारी निर्माता रत्न श्रेष्ठका अनुसार गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री प्रेमिल संसारमा हराएका छन् ।

फिल्ममा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईंलगायत कलाकारको अभिनय रहेको छ । फिल्मको छायाङ्कन शतप्रतिशत प्रदेश १ कै पर्यटकीय स्थानहरूमा गरिँदै छ ।