भद्रपुर । कोरोना भाइरस महामारीको कारण नेपाल–भारतको सीमामा पर्ने भद्रपुर स्थित मेची नदीमा यस वर्ष छठ पूजाको व्यवस्थापन नगरिने भएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्डअनुसार भौतिक दूरी कायम राख्नुपर्ने, भिडभाड गर्न नहुने भएकाले यस वर्ष भद्रपुर नगरपालिका–५ स्थित मेची नदी किनारमा छठ पूजाको व्यवस्थापन नगरिने भएको हो ।

तिहारमा समूहगत देउसी–भैलो नखेल्न, बिनाकाम घरबाहिर भिडभाडमा ननिस्कन, छठमा घाट नबनाउन सबै सङ्घसंस्थालगायत सम्पूर्ण नगरवासीसँग भद्रपुर नगरपालिकाले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

यो वर्ष चाडपर्व घर–घरमै मनाउन हुन भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए । भिडभाड हुदा महामारी झन फैलिने भएकोले समूहगत रुपमा पर्व नमानाउन उनले नगरवासीसँग अनुरोध गरेको बताए ।

वर्षौँदेखि मेची नदी किनारमा छठ पूजाको आयोजना तथा व्यवस्थापन गर्दै आएको मैथिल समाज झापा भद्रपुरले पनि यस वर्ष छठ व्यवस्थापन नगर्ने मैथिल समाज झापाका अध्यक्ष रमेशचन्द्र झाले बताए । नगरपालिकासँगको समन्वय गर्दा यस वर्ष छठ पूजाको आयोजना तथा व्यवस्थापन नगरिने निर्णय भएको उनले बताए ।

मेची लगायत यस वर्ष बिर्तामोड, दमक, धुलाबारी जस्ता कुनै पनि ठाउँमा छठ पूजाको आयोजना नगरिने जानकारी प्राप्त भएको उनले जनाए । हिन्दुहरूको मुख्य चाडपर्वमध्ये छठ पर्व मुख्य गरी चार दिन मनाएर व्रतालुहरूले आफ्नो मनोकामना पूरा हुने विश्वासकासाथ मनाउँदै आइरहेका थिए ।

पछिल्लो समय यो पर्व अधिकांश समुदायले सामूहिक रुपमा मनाउने गरेका छन् । अझ नेपालकै ठूला छठ पूजा हुने ठाउँमध्ये दोस्रोमा पर्ने भद्रपुरस्थित मेची नदीमा गरिने छठ पूजा झापाकै आकर्षक स्थल बन्ने गरेको थियो ।

सीमा क्षेत्रमा पर्ने मेची नदी भएकोले दुवै देशका व्रतालु तथा धर्मानुरागीहरूको बढी भीड लाग्दै आएको थियो । नदीको दुवैतर्फ तीन किलोमिटर क्षेत्रमा पाँच हजार बढी पूजा स्थल निर्माण हुने गरेका थिए ।

गत तीन वर्षदेखि सार्वजनिक छठ पूजा समिति गठन गरेर भद्रपुर नगरपालिकाले कामको सुरुवात गर्दै आइरहेको थियो । सडक, चोक, बजारमा भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आफू पनि सुरक्षित हुन र अरूलाई पनि सुरक्षित राख्न झापा प्रहरी प्रशासनले अनुरोध गरेको छ ।

तिहार तथा छठमा पटकाजन्य पदार्थ खरिद, बिक्री, भण्डारण तथा विस्फोटन नगर्न नगरवासीलाई अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।