धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै कोरोना संक्रमितको उपचार र परीक्षण खर्चका विषयमा ‘प्रतिरक्षात्मक अभिव्यक्ति’ दिएका छन् ।

असोज १९ गतेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमित स्वयम्ले परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई कात्तिक २ गते मात्रै सार्वजनिक गरिएको थियो । आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले संक्रमितको उपचार गर्ने प्रतिरक्षात्मक प्रतिक्रिया दिएका हुन् ।

उनले सम्बोधनका क्रममा भने, ‘सरकारले सके आफै बाँच, नसके जेसुकै गर भनेर राज्यले भनेको छैन, सरकारले सबैको उपचार गर्नेछ ।’ प्रम ओलीले कोरोना संक्रमितको उपचारमा सबैको पहुँच बराबर गरिने बताए । उनले उपचार गर्न नसक्नेको हकमा सरकारले उपचार गर्ने प्रतिवद्धता समेत जनाए ।

उनले फेरि पनि एकपटक संक्रमितलाई घरेलु औषधिलाई प्रयोगमा ल्याउनका लागि आग्रह गरे । उनले ज्येष्ठ नागरिक र बालबालिकामा संक्रमणको सम्भावना बढी हुने भएकाले सबैलाई सचेत रहन आग्रह गरे । उनले जनताको सकरात्मक सहयोगका कारण कोरोनाबाट हुने मृत्युदर ० दशमलव ६ प्रतिशतभन्दा माथि बढ्न नसकेको दाबी गरे । दुई दिनअघि भारतका गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोलयसँगको भेटबारे भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

रअ प्रमुखसँगको भेटलाई लिएर सत्तारुढ दलभित्रै आलोचना भएको थियो । कूटनीतिक मर्यादा विपरीत भेटवार्ता भएको बताइएको छ । किनकि रअ प्रमुख भारतका सरकारी कर्मचारीका प्रमुख हुन् भने प्रधानमन्त्री ओली देशका प्रमुख हुन् ।