धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
शुक्रबार अपरान्ह करिब ४ बजे देशबासीको नाममा सम्बोधन गर्न लागिएएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिन लागिएको छ ।
एक दिनअघि मात्रै भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रम ओलीले सरकारी निवास बालुवाटारमा भेटवार्ताको विषयलाई लिएर तीव्र आलोचना खेपिरहेका छन् । संविधानको मूल मान्यता विपरीत तथा कूटनीतिक मर्यादा विपरीत भेट गरेको भन्दै आफ्नै पार्टीबाट आलोचना भइरहेको छ ।
त्यस्तै सरकारले कोरोना परीक्षण तथा उपचारमा नागरिक स्वयम्ले उपचार खर्च व्यहोर्नुपर्ने जनाएपछि थप आलोचना भइरहेको छ । उक्त निर्णयको पनि विभिन्न पार्टीहरूले आलोचना गरिरहेका छन् । यतिसम्म कि सरकारमा रहनुको औचित्य समाप्त भएको समेत प्रतिक्रिया आउन थालेको छ ।
प्रम ओलीले पछिल्लो अपडेटका विषयमा सम्बोधनमा समेट्ने विश्वास गरिएको छ । यही बीचमा हिन्दू धर्मालम्बीको महान चाड विजयादशमी पनि सुरु भएको छ । आज फूलपाती अर्थात् सप्तमी हो । कोरोना महामारीका कारण विजयादशमीलाई समान्य मनाउनका लागि सरकारले आग्रह गरिसकेको छ ।
प्रम ओलीले यस विषयलाई पनि सम्बोधन गर्ने विश्वास गरिएको छ । नेपालमा झण्डै १ लाख ४० हजारको हाराहारीमा संक्रमित पुगिसकेका छन् भने १ लाख निको भएर घर फर्किसकेका छन् ।