धरान/भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेट ‘कुटनैतिक मर्यादा विपरीत’ भएको सत्तारुढ दल नेकपाका नेताहरूले बताएका छन् ।

बुधबार साँझ रअ प्रमुख गायल र प्रम ओलीबीच भेटवार्ता भएको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरेका थिए । रअ प्रमुखले अन्य पार्टी तथा नेकपाका नेताहरूसँग भने भेटघाट नगरेको बुझिएको छ । यो भेटलाई लिएर नेकपाका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, अर्का नेता भीम रावललगायतले ‘कुटनैतिक मर्यादालाई ख्याल नगरिएको’ भन्दै टिप्पणी गरेका छन् । रअ प्रमुख गोयलले सरकारी निवास बालुवाटारमा प्रम ओलीसँग भेट गरेका थिए । भेटवार्तामा गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा धारणा सार्वजनि गरेको प्रेस सल्लाहकार थापाले जनाएका थिए ।

नेकपाल नेता रावलले सामाजिक सञ्जालमा खुलेर विरोध गरेका छन् । उनले लेखेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाविपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो, जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ । कुटनीतिक मर्यादा विपरीत छ ।’ छिमेकी देशका कर्मचारीसँग प्रधानमन्त्रीले सरकारी निवासमा भेट गर्नु ‘कुटनीतिक कमजोरी’ को संज्ञा दिएका छन् । अध्यक्ष प्रचण्ड तथा नेता नेपालले प्रधानमन्त्रीको कूटनीतिक अपरिपक्वता प्रदर्शन भएको बताएका छन् ।

यस विषयमा परराष्ट्र मन्त्रालयसम्मलाई जानकारी नभएको बुझिन आएको छ तर परराष्ट्र मन्त्रालयले हालसम्म यसबारे आधिकारिक लिखित जवाफ बाहिर ल्याएको छैन । प्रधानमन्त्रीले संविधान, विधि, पद्धति र कुतनीतिक मान्यतालाई मिचेको बताइएको छ । यसलाई नेकपा नेताहरूले ‘रहस्यमय भेट’ भन्दै टिप्पणी गरेका छन् । रातारात भेटघाट गरिनुले पनि थुप्रै प्रश्नहरू उब्जाएका छन् । गुप्तचर प्रमुखसँग भेट्ने विषयलाई लिएर अहिले सामाजिक सञ्जाल ट्वीटरमा थुप्रै आलोचना सुरु भएका छन् । प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय प्रचलनलाई ख्याल नगरेको भन्दै व्यापक टिप्पणी आइरहेका छन् । तर, यस विषयमा प्रधानमन्त्री ओलीले पनि आधिकारिक जवाफ दिएका छैनन् ।

रअ प्रमुखसँगको भेट तथा कुराकानी पारदर्शी हुनुपर्ने भन्दै नेकपा नेताहरूले माग गरेका छन् । ओलीको राष्ट्रवादलाई लिएर पनि प्रश्न उठाएका छन् । यता विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि रअ प्रमुखसँग भेटघाट नभएको प्रतिक्रिया दिएका छन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले रअ प्रमुखसँग भेटवार्ता नभएको काठमाडौंका अनलाइनहरूलाई बताएका छन् । रअ प्रमुख गोयलसहित ९ सदस्यीय टोली नेपाल आएको थियो । कोरोनाका कारण पछिल्लो समय भारतसँग नियमित उडान नभइरहेका बेला रअ प्रमुखसँगको भेटलाई लिएर टिकाटिप्पणी सुरु भएका छन् । प्रम ओलीसँग दुई घण्टा भेट गरेको बताइएको छ ।