भण्टाबारी । सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा जिल्लामा फुसको छानो हटाउने भएको छ । सांसद कार्कीले चुनावमा गरेको प्रतिबद्धताअनुसार जिल्लाको विभिन्न स्थानीय तहमा रहेका फुसको छानो हटाउन लागिएको हो ।
पूर्व अर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्यसमेत रहेका सांसद कार्कीले अब कोही पनि नागरिक फुसको छानोमा बस्नु नपर्ने भन्दै चुनावमा प्रतिबद्धता गरेका थिए । सोही प्रतिबद्धताअनुसार सुनसरी क्षेत्र नम्बर ४ का १०३७ घरमा फुसको छानो हटाउदै जस्तापाता लगाइदिने योजना अन्तिम चरणमा पुगेको सांसद कार्कीले जानकारी दिए ।
फुसको छानो हटाउदै जस्तापाता लगाउन प्रत्येक घरधुरीलाई ५० हजारका दरले खर्च गरिने उनको भनाइ छ । यसरी १०३७ घरमा फुसको छानो फेर्दै जस्तापाता लगाउन ५ करोड १८ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । सांसद कार्कीले आफ्ना निर्वाचन क्षेत्रमा रहेका गरिब विपन्न घरपरिवारका फुसको छानो फेरिन लागेको बताए ।
निर्वाचनको बखत आफू निर्वाचित भएपछि गरिब विपन्न घरपरिवारको बर्खामा चुहिने छानो हटाईदिने प्रतिबद्धता गरेको थिए उनले भने सोहीप्रतिबद्धता पुरा गर्दै शहरी विकास मन्त्रालयको सहयोगमा १०३७ घरमा फुस छानो हटाउदै जस्तापाता हाल्ने योजना कार्यान्वयन हुन लागेको छ ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा रहेका तीनवटा नगरपालिका र तीनवटा गाउँपालीकामा रहेका फुसको छानो सम्बन्धित स्थानीय तहमार्फत योजना संकलन गर्दै उक्त लागत विवरणअनुरुप प्राप्त संख्याका आधारमा फुसको छानो हटाउन लागिएको हो ।
आउने मंसिरभित्र योजना कार्यान्वयन हुने बताउदै सांसद कार्कीले योजना कार्यान्वयन भएपछि गरिब विपन्न घरपरिवारले भोग्दै आएको समस्या अन्त्य हुने बताए ।
जनता आवास कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समितिसँग सहकार्य गर्दै सम्बन्धित स्थानीय तहका प्रमुख र उपप्रमुख बीचको समझदारीमा फुसको छानो हटाइने योजना कार्यान्वयन हुन लागेको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ भित्र रहेका स्थानीय तहहरुमध्ये सबैभन्दा बढी कोशी गाउँपालीका क्षेत्रमा रहेका फुसको छानो हटाइने भएको छ ।
कोशी गाउँपालीकामा २९२ घरपरिवार, बराहक्षेत्र नगरपालिकामा २२९, भोक्राहा नरसिंह गाउँपालीकामा १९२, हरिनगर गाउँपालीकामा १२४, रामधुनी नगरपालिकाको वार्ड नम्बर ४ मा ९२ घरपरिवारसहित १०३७ घरमा फुसको छानो हटाउदै जस्तापाता लगाइने योजना रहेको छ ।