धरान । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखले सुटुक्क नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

रअका प्रमुख सामन्तकुमार गोयलले प्रम ओलीसँगको भेटले थुप्रै प्रश्न जन्माएका छन् । यसरी सुटुक्क भेट्नुपर्ने कारण के हुन सक्छ भन्दै चौतर्फी आलोचना सुरु भएको छ । प्रमका प्रेस सल्लाहकार सूर्य थापाले गोयलले बुधबार साँझ प्रमलाई भेट गरेको पुष्टि गरेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमहरू पनि भारत विरोधी देखिएका छैनन् । तर पनि रअ प्रमुख नेपाल आउनुलाई निकै नै फरक कोणबाट विश्लेषण गरिन थालिएको छ । सल्लाहकार थापाका अनुसार नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरू वार्ताको माध्यमबाट समाधान गर्नेलगायतका विषयमा गोयलले राखेका थिए ।

तर, कुटनीतिक हिसाबमा रअका प्रमुखले भेट गर्नु ठीक कि बेठीक भन्ने चर्चा सुरु भएको छ । बुधबार आएका उनी बिहीबार बिहानै चार्टर्ड विमानमार्फत दिल्ली फर्किसकेका छन् । उनले नेपालका लागि के सन्देश लिएर आएका थिए भन्नेसम्म खुलेको छैन ।

रअ प्रमुख गोयलले अन्य नेतासँग भेटघाट गरेकोबारे हालसम्म पुष्टि हुन सकेको छैन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोयलको भेट नभएको सचिवालयले पुष्टि गरेको छ । प्रधानमन्त्रीलाई भेट्नकै लागि आउनुले पनि निकै प्रश्नहरू उब्जिएका छन् । तर, नेपालका केही अनलाइन मिडियाहरूले रअ प्रमुखसँग प्रचण्ड र माधव नेपालसँग गोप्य भेट भएको भन्ने खाल्का समाचारहरू प्रकाशित भएका थिए ।

उक्त समाचारलाई लिएर प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले यसलाई झुट, कपोकल्पिट र भ्रामक समाचारको संज्ञा दिएका छन् । र, नागरिकलाई यस्ता भ्रममा नपर्नका लागि पनि आग्रह गरिएको सेतोपाटीले उल्लेख गरेको छ । माधव नेपालको सचिवालयले पनि गोयससँगको भेटबारे कुनै आधिकारिक पुष्टि गरेको छैन । यतिसम्म कि रअ प्रमुख काठमाडौं आए नआएकोसम्म थाहा नभएको बताएको छ ।

त्यस्तै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट भएनभएको बारे कुनै आधिकारिक प्रतिक्रिया बाहिर आएको छैन । निर्वाचित हुनुपूर्व प्रधानमन्त्री ओली भारतविरुद्ध निकै आक्रामक रूपमा प्रस्तुत भएका थिए । संविधान जारी भएपछि एकाएक भारतले अघोषित रूपमा नाकाबन्दी लगाएको थियो । ओलीले त्यसको खुलेर विरोध गरेका थिए । जसको परिणाम स्वरूप २०७४ साल मंसिर १४ गतेको प्रतिनिधिसभाको चुनावमा नेकपाले झण्डै दुईतिहाई स्थानमा जितेको थियो ।