विराटनगर/ प्रदेश १ को राजधानी रहेको सहर विराटनर क्षेत्रको सडकभित्र जथाभावी फोहोर फाल्नेलाई कारबाही हुने भएको छ ।

महानगरपालिका क्षेत्रभित्रको बजार क्षेत्रमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति बढेपछि फोहोरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम कारबाही गर्न सुरु गरिएको हो ।

महानगरपालिका क्षेत्रमा वेस्ट म्यानेजमेण्ट ग्रुप नेपाल प्रा.लि., फोहोरमैला व्यवस्थापन परियोजना विराटनगरले फोहोर व्यवस्थापन गर्दै आएको छ । अहिले विराटनगर बजार क्षेत्रमा पसल अगाडिको सडकमा फोहोर फाल्ने प्रवृत्ति बढ्दै गएको पाइएपछि कारबाहीको प्रक्रिया बढाएको वेस्ट म्यानेजमेण्ट ग्रुप नेपालका फोहोरमैला परियोजना प्रमुख देवी आचार्यले जानकारी दिए । ‘विराटनगरको बजार क्षेत्रमा सडकमै फोहोर फाल्ने काम भइरहेको छ’ उनले भने, ‘सडकमा फोहोर फाल्ने व्यक्तिलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउने प्रक्रिया सुरु गरिएको छ ।’ घरभित्र र पसलबाट उत्सर्जन भएको फोहोर सङ्कलन गर्दा सिधै गाडीमा हाल्नुपर्नेमा त्यसो नगरी सर्वसाधारणले बाटैमा फोहोर थुपार्न थालेपछि कारबाही थालिएको आचार्यले बताए ।

सडकमा फोहोरजन्य वस्तु फाल्नेलाई निगरानी गरी फोहोरमैला व्यवस्थापन ऐनअनुसार कारबाही गर्ने चेतावनी उनले दिए । विराटनगर नगरक्षेत्रमा फोहोर उठाउन विराटनगर महानगरपालिका र वेस्ट मेनेजमेण्ट ग्रुप नेपालको पहलमा साँझमा पनि एक हप्ता अगाडिदेखि फोहोर सङ्कलन सुरु भएको छ । बजार क्षेत्रका पसलहरूबाट साँझको समयमा बढी फोहोर उत्सर्जन हुने हुँदा साँझैमा सङ्कलन गरी व्यवस्थापन गर्न थालिएको आचार्यले बताए । चाडबाडको बेलामा बजारमा चाप बढेसँगै फोहोर पनि बढी उत्सर्जन हुने गरेको छ । साँझमा बजार एरियाको फोहोर उठाएर अतिरिक्त सेवा दिने काम एक साता अघिबाटै सुरु भएको हो ।

रोडशेष चौकदेखि मेनरोड हुँदै पानी ट्याङ्कीसम्मको सडकबाट नियमितरूपमा साँझमा पनि फोहोर सङ्कलन गर्ने काम भएको छ । साँझमा फोहोर उठाउने अभियान प्रभावकारी भएकोले आगामी दिनमा महानगरको सबै बजार क्षेत्रमा विस्तार गर्ने तयारी गरिएको छ । परियोजनाले प्रत्येक दिन बिहान तीन चरणमा फोहोर सङ्कलन गर्दै आएको छ । विराटनगरभित्र दैनिक ६५ टनदेखि ९० टनसम्म फोहोर सङ्कलन हुने गरेको छ । महानगरपालिकाभित्रको फोहोर सङ्कलन गर्ने कार्यका लागि वेस्ट मेनेजमेण्टले नियमित रूपमा २ सय ४० जना जनशक्ति परिचालन गर्दै आएको छ । फोहोर सङ्कलन कार्यमा २५ वटा ट्याक्टर र २५ ट्राइसाइकल परिचालन गरिँदै आएको आचार्यले बताए । वेस्ट मेनेजमेण्ट ग्रुपले महानगरपालिकासँग फोहोर सङ्कलन र व्यवस्थापनको सम्झौता गरी २०७३ जेठ १ गतेदेखि काम गरिरहेको छ ।

आगामी असार मसान्तसम्म ग्रुपले फोहोर सङ्कलनको जिम्मेवारी सम्हाल्नेछ । महानगरले प्रतिमहिना ११ लाख ४० हजार रुपैयाँका दरले फोहोर सङ्कलन तथा व्यवस्थापन कार्यका लागि ग्रुपलाई रकम उपलब्ध गराउँदै आएको छ । यसका अतिरिक्त प्रतिपसल न्यूनतम् ३ सय रुपैयाँ, प्रतिसाधारण घर २ सय र विशेष सेवाका लागि प्रतिघर ५ सय रुपैयाँ सेवा शुल्क परियोजनाले लिने गरेको छ । महानगरपालिकाबाट प्राप्त रकम र सेवाग्राही सदस्यहरूबाट प्राप्त सेवा शुल्क रकम गरी करिब ४० लाखको लागतमा महानगरभित्रको फोहोर मैला व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य हुने गरेको छ । यसमा महानगरपालिकाले ३२ जना कर्मचारी परियोजनाको लागि काज स्वरूप उपलब्ध गराएको छ ।