- सन्तवीर लामा/धनकुटा
यूएनडिपीको आर्थिक सहयोगमा धनकुटा नगरपालिकाका बाढीपहिरो पीडित १ सय १६ घरपरिवारलाई राहत समाग्री वितरण गरिएको छ ।
पर्डेप नेपाल धनकुटा र धनकुटा नगरपालिकाको स्थानीय व्यवस्थापनमा मंगलबार खाद्यान्न वितरण गरिएको हो । प्रतिपरिवार ५० केजी चामल, ५ केजी दाल, ४ लिटर तेल ३ केजी चिनी र ३ केजी नुन वितरण गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिनप्रसाद सुवेदीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सांसद् निरन राईले साँगुरीगढी गाउँपालिका, महालक्ष्मी नगरपालिका र धनकुटा नगरपालिकाका बाढीपीडितलाई यूएनडीपीले राहत उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यूएनडिपीको राहतले केहीमात्रामा भए पनि राहत पुगेको बताए । राहत वितरण कार्यक्रममा धनकुटा नगरपालिकाको उपप्रमुख सकुन्तला बस्नेत, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, ७ नम्बर वडाका वडाध्यक्ष जङ्गबहादुर आठपहरिया, वडा नं.४ का वडाध्यक्ष जम्शेर आठपहरियालगायत सहभागी थिए ।
यूएनडिपीका अनुसार धनकुटाका तीन वटा स्थानीय तहमा १ सय ९४ घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । यसअघि जिल्लाको साँगुरीगढी गाँउपालिकाको ४१ र महालक्ष्मी नगरपालिकाको ३७ घर बाढीपहिरो पीडित परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको पर्डेप नेपाल धनकुटाले जनाएको छ ।