कालाबञ्जार । वराहक्षेत्र–१ र २ वडाबासीलाई लक्षित गर्दै खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजना सुरु भएको छ ।
एक नम्बर प्रदेश सरकारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं. ३ इटहरीमार्फत २ करोड १४ लाखको लगानीमा आयोजना सुरु भएको हो । साढे चार लाख लिटर क्षमताको ट्यान्की निर्माण भइरहेको छ । २०७६ माघ ३ मा ठेक्का आह्वान भई निर्माणको काम शुरु भइरहेको डिभिजन प्रमुख इञ्जिनियर प्रमोद दत्तले जानकारी दिए ।
उनका अनुसार दुई वर्षभित्र ओभरहेड ट्यान्की निर्माण भइसक्नेछ । हाल २ हजार १ सय घरधुरीले पानीको माग गरे पनि १ हजार २ सय घरधुरीले मात्रै धारा पु¥याउन सकिएको तोरीबारी खानेपानी सरसफाइ तथा मूल उपभोक्ता समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देलले बताए । यो ट्यान्की निर्माण भएपछि ५ हजार घरधुरीलाई पर्याप्त पानी पुग्ने सिग्देलको भनाइ छ । पानी ट्यान्की निर्माण भएपछि पूर्वमा खारखोला, पश्चिममा भण्डारीटार र दक्षिणमा खस्रेसम्मका बस्तीहरू लाभान्वित हुने बताइएको छ ।