धरान । सामाजिक सुरक्षा भत्ता लिन सास्ती भएपछि ज्येष्ठ नागरिकलाई लक्षित गर्दै माउन्ट मकालु बैंकले छथरको शुक्रबारेमा शाखा कार्यालय स्थापना गरेको छ ।
तेह्रथुमको छथर गाउँपालिकाको पहलमा शाखा कार्यालय स्थापना भएको हो । बैंकको शाखा कार्यालय स्थापना भएपछि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सहज बनेको छ । यसअघि सामाजिक सुरक्षा भत्ता लिनका लागि स्थानीय ज्येष्ठ नागरिकहरू तेह्रथुमको वसन्तपुर जाने गरेका थिए ।
कोरोना महामारीको आक्रान्तका कारण ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन जानसमेत समस्या हुन थालेपछि शाखा कार्यालय स्थापनाका लागि पहल गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए । गाउँमै बैंक स्थापना भएपछि ज्येष्ठ नागरिकलाई भत्ता लिन सह जबनेको उनले बताए ।
गाउँमै भत्ता पाउने भएपछि छथर गाउँपालिका ३ का लालबहादुर लिम्बू खुसी देखिए । उनीजस्ता ज्येष्ठ नागरिकहरू सहज रूपमा गाउँमै भत्ता पाउने भएपछि दंग देखिएका थिए । अर्का ज्येष्ठ नागरिक ताराबहादुर थापाले गाउँमै भत्ता पाउने व्यवस्था भएपछि आफूहरू जस्ताका लागि गाउँपालिका भगवान् भएको बताए । गाउँपालिकाले असक्त तथा असहाय ज्येष्ठ नागरिकलाई घरमै पुगेर भत्ता दिँदै आएको छथर गाउँपालिका ३ नम्बर वडाध्यक्ष तुलसीजंग थापाले जानकारी दिए ।