धरान । नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति तथा दायित्व हस्तान्तरण कात्तिक २६ गतेभित्र गरिने गरी धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले बुधबार निर्णय गरेको छ ।
सम्पत्ति तथा दायित्व हस्तान्तरण प्रक्रिया विभिन्न कारणले लम्बिँदै आएको थियो । हालसम्म धरान खानेपानी बोर्डमा आउन नसक्दा खानेपानी वितरण असहज बन्दै आएको बोर्डले दाबी गर्दै आएको छ । यता संस्थानले कुनै पनि अवरोध नगरेको दाबी गर्दै आएको थियो । झण्डै दुई महिनापछि बसेको कार्यपालिकाको बैठकले कात्तिक २६ गतेभित्र सम्पत्ति तथा दायित्व हस्तान्तरण गरिने निर्णय भएको धरान–९ का वडाध्यक्ष रत्न कट्वालले जानकारी दिए ।
उनका अनुसार धरानको बीपी पार्क, सप्तरंगी पार्कलगायतलाई पनि व्यवस्थित गरिने निर्णय भएको छ । तर, बैठकले कुन तहको व्यवस्थित गर्ने भन्ने विषयमा कुनै यथेष्ट ‘रोडम्याप’ तयार गरेको छैन । त्यस्तै प्रदेश सरकारको लगानीमा भेडेटारमा निर्माण हुन लागेको स्काईवाकका लागि ठेक्का आह्वान गरिने तयारी भएको छ । तर, यसअघि बूढीगंगाको एक निर्माण कम्पनीलाई जिम्मेवारी दिइसकेको छ ।
नेपाल सरकारको लक्ष्य अनुरूप ६ हजारभन्दा मुनी र ६ हजारभन्दा माथि जनसंख्या रहेको वडामा टाइप १ र टाइप २ प्रकारको स्वास्थ्य केन्द्र बनाउने तयारी भएको छ । हाल रहेका स्वास्थ्य केन्द्रहरूलाई पनि अनुमोदन गर्ने निर्णय भएको छ ।
यस्तै कोरोना भाइरसबाट संक्रमितको संख्या दैनिक बढिरहेकाले एन्फा क्वारेन्टिनलाई ‘आइसोलेसन’ मा परिणत गर्ने निर्णय भएको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा कार्यपालिकाको बैठक बसेको हो ।