यासोक/पाँचथरको कुम्मायक गाउँपालिका १ का नागरिकताविहीन आमाछोरालाई राहत बितरण गरिएको छ । बैदेशिक रोजगारीको क्रममा दुबइमा रहेका युवाहरूले गाउँपालिकामार्फत पीडित परिवारलाई राहत उपलब्ध गराएका छन् ।

नागरिकताविहीन ८० वर्षीया देवीमाया बुढाथोकी र ५१ वर्षीय छोरा शेरबहादुर बुढाथोकीलाई १२ हजार ७ सय रुपैयाँ उपलब्ध गराएका हुन् । कुम्मायक १ घर भइ हाल दुबइमा काम गर्दै आएका शेखर बोहोरा, गणेश बुढाथोकी, रणबहादुर बुढाथोकी र केशव बोहोराले पीडित परिवारलाई गाउँपालिकामार्फत रकम उपलब्ध गराएका हुन् ।

यसअघि ब्लाष्ट राष्ट्रिय दैनिकमा नागरिकताविहीन आमाछोरा बाख्राको खोरमा शीर्षकको समाचार प्रकासित भएपछि बैदेशिक रोजगारीमा रहेका युवाहरूले पीडित परिवारलाई राहत बितरण गरेका हुन् । उनीहरूले पठाएको रकम गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङसहितको जनप्रतिनिधिको टोलीले पीडित परिवारलाई बुझाएको थियो ।

सो क्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत देबेन्द्र कटुवालले एक हजार रुपैयाँ उपलब्ध गराएका थिए । राहत बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता आचार्य, कुम्मायक १ का वडाध्यक्ष देबेन्द्रकुमार लावती र प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराईलगायतको टोलीले पारिवारिक अवस्थाको विषयमा जानकारी लिएको थियो ।

चाडपर्व नजिकिएसँगै सोही रकमबाट परिवारलाई खाद्यान्न्, नुनतेल र लत्ताकपडा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष चेम्जोङले बताए । बाँकी रहेको ५ हजार ६० रुपैयाँ नगद परिवारलाई बुझाएको चेम्जोङको भनाइ छ । यसअघि पनि गाउँपालिकाको कार्यालयले पीडित परिवारलाई घरमै पुगेर राहत बितरण गरेको थियो ।

बाख्राको खोरमा बस्दै आएका आमाछोरालाई खोरबाट मुक्त गरी पीडित परिवारलाई २३ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र ७ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।

त्यस यता वडाले लकडाउनको समयमा राहत स्वरुप खाद्यान्न बितरण गरेको थियो । तर परिवारले नागरिकता नपाएको बिषयमा भने गाउँपालिका र वडाबाट पहल हुँदै आएकाे भन्दै दशैं र तिहारको बीचमा नागरिकत्ता उपलब्ध गराउने गाउँपालिकाको कार्यालयले जनाएको छ ।