विजयपुर । धरान–७ शान्तिपथस्थित खहरे खोलामा स्थानीयबासिन्दाहरूले फोहोर फाल्दा छिमेकीहरूलाई स्वास्थ्य जोखिम बढेको छ । फोहोरले उक्त क्षेत्र कुरुप पनि बनेको छ ।

खहरेमा फोहोर फाल्न मनाही गरिए पनि स्थानीयले रातको समयमा फोहोर फालेका कारण स्वास्थ्य जोखिम बढेको हो । फोहोर फाले पनि सम्बन्धित पक्षले चासो दिएको छैन । धरान–७ ले फोहोरमैला नगर्नु भनेर सार्वजनिक सूचना पनि राखेको छ । सार्वजनिक सूचना राखेकै क्षेत्रमा नै फोहोरमैला फ्याकिने गरको छ ।

खहरेको पसलमा ठेलामा चटपटे लागयतको व्यापार गर्नेहरुले पनि फोहोरमैला खहरेमा नै फ्याक्ने गरेका छन् । सो क्षेत्रका स्थानीयबासीले चर्पीको निकास पनि खहरेमा लगाएको स्थानीय बताउँछन् । स्थानीय गणेश घले भन्छन्, 'खहरेको पुल छेउमा ठेला चलाउनेहरूले पनि त्यहाँबाट आएको फोहोरमैला सोही खहरेमा फ्याक्ने गरेपछि अझ बढि फोहोरमैला हुने गरेको छ । उनले थपे, ‘स्थानीयले चर्पीको सेफ्टी ट्याङ्की पनि भरिएपछि यहि खहरेमा हाल्छन् ।’

माछा भौडीमा धरान गौरव आयोजनाअनुसार पार्क बन्दैछ । पार्ककै छेउमा यस्तो फोहोरमैला गर्नु राम्रो नभएको स्थानीयवासी सन्दिप राईले बताए । उनले खहरे छेउका स्थानीयवासीहरुले चर्पीको सेफ्टी ट्याङ्की सिधै खहरेमा हाल्ने गरेको वताए । अर्का स्थानीयवासी महेश जसवालले पनि खहरे आसपासका स्थानीयवासीहरुले फोहोरमैला खहरेमा फाल्नाले विभिन्न प्रकारका रोगहरू फैलने सम्भावना भएको बताए ।

यस विषयमा धरान–७ का अध्यक्ष जीवन सुवेदीले पटक–पटक जानकारी दिए पनि अटेर गरिरहेको बताए । उनले भने, ‘हामीले भन्दा हुन्छ भनेर जवाफ दिन्छन्, रुघेर बसिँदैन् नदेख्ने गरी फ्याक्ने गर्छन् ।’ उनले पटकपटक भनेर नभएपछि सार्वजनिक सूचना राखेको तर पनि नभएकाले अब भने कारबाही प्रक्रियामै जाने बताए ।