धरान । प्रतिनिधिसभाका सांसद्हरूले दशैं भत्ता बुझेको विषयमा तीव्र आलोचना भइरहेका बेला जनता समाजवादी पार्टीका सांसद्हरूले भत्ता नलिने बताएका छन् ।

यसअघि नेपाली कांग्रेसका सांसद्हरूले दशैं भत्ता फिर्ता गरिसकेका छन् । कोरोना महामारीका बेला दशैं भत्ता बुझेको भन्दै तीव्र विरोध भएपछि संघीय सांसद्हरूले भत्ता फिर्ता गरेका थिए ।

यता मधेशवादी दल जसपाका सांसद्हरूले दशैं भत्ता नलिने बताएका हुन् । सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिले निर्णय गर्दै दशैं भत्ता खारेज गर्ने माग समेत गरेको छ । पार्टीका नेता विश्वदीप पाण्डेले आफ्ना सांसद्ले मात्रै नभई अन्य दलका सांसद्हरूको हकमा पनि दशैं भत्ता लिनु हुँदैन भन्ने पार्टीको माग रहेको बताए ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजसम्म सञ्चालन हुँदै छ । पार्टीले सोमबार विधान संशोधनसहित पारित गरेको जनाएको छ ।