विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरू हराउँदै गएको बताएका छन् ।

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाली भाषा: चुनौती र समाधान’ विषयक अनलाइन कार्यक्रममा मन्त्री घिमिरेले प्रविधि र विश्वव्यापीकरणको प्रभावले रैथाने शब्द लोप हुने खतरा बढेको बताए । उनले भने, ‘कतिपय शब्दलाई स्वीकार्नुपर्ने अवस्था पनि छ ।’ अंग्रेजीबाट सिकेको कुरा मात्र सही हुन्छ भन्ने मान्यतालाई बदल्नुपर्नेमा उनले जोड दिए ।

सिकाइ कुनै पनि भाषा र माध्यमबाट हुन सक्ने भन्दै मन्त्री घिमिरेले भने, ‘अंग्रेजी नै सबै कुरा होइन ।’ सिकाइका कुनै पनि माध्यमहरू हुन सक्छन् भन्ने बोध समाजलाई गराउनुपर्ने अवस्था आएको उनले बताए ।
कार्यक्रममा प्रा.डा. टङ्कप्रसाद न्यौपाने र डा. रमेश घिमिरेले ‘नेपाली भाषा: चुनौती र समाधान’ विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमाथि स्वदेश तथा विदेशमा रहेका नेपाली भाषाका विज्ञहरूले टिप्पणी गरे ।