विजयपुर । जिल्ला प्रशासनको विपद् व्यवस्थापन समितिले जिल्लाभरि जोरबिजोर प्रणालीमा सवारी सञ्चालन गर्न निर्देश गरे पनि साना सवारी सञ्चालकले अटेर गरेका छन् ।

यातायात व्यवसायीले आफूहरूलाई जोरबिजोर प्रणालीबारे सूचना नै नपाएको भन्दै ‘गैरजिम्मेवारी’ जवाफ दिएका छन् । विपद् व्यवस्थापन समितिले असोज ३० गते नै जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्नुपर्ने निर्देशन जारी गरेको थियो ।

यातायात व्यवसायीले कात्तिक ३ गतेसम्म पनि सूचना प्राप्त नगरेको जवाफ दिएका छन् । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको थियो । कात्तिक २ गतेदेखि कडाइका साथ कार्यान्वयनमा ल्याउने निर्णय गरिएको भए पनि हालसम्म यातायात व्यवसायी सोबारेमा अनभिज्ञता प्रकट गरेका छन् ।

समितिले जिल्लाभरिका छोटो दूरीमा चल्ने टेम्पो, इरिक्सा, माइक्रो, कार, जिप, म्याजिकलगायतलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न निर्णय गरिएको थियो । तर, उक्त सूचना आफूहरूले प्राप्त नगरेको धरान–९ का व्यवसायी अभिमन्यू श्रेष्ठले जानकारी दिए । उनले ट्राफिक प्रहरीले समेत हालसम्म सूचना नदिएको बताए ।

समितिको निर्णयमा स्थानीय तहको अनुमतिमा सञ्चालित इरिक्सा तथा टेम्पो मूल सडक, बजार र बसपार्क क्षेत्रमा पार्किङ गर्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख भुवनबाबु खड्काले सम्बन्धित पक्षलाई जानकारी दिइसकेको बताए । तर, अटेर गरेको विषयमा भने उनले यातायात व्यवसायीको गैरजिम्मेवारीपना रहेको टिप्पणी गरे ।