सुनसरी । संघीय र प्रदेश सरकारको स्पष्ट नीतिका अभावमा स्थानीय तहको विकास प्रभावित भएको रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले बताएका छन् ।
अब स्थानीय सरकारले आन्तरिक आय स्रोतलाई बढाएर विकासको योजना अगाडि बढाउने उनले बताए । आन्तरिक आय स्रोतबाट मात्रै स्थानीय तहको विकास सम्भव हुने उनको भनाइ छ । उनले कान्छो नगरपालिका रामधुनीलाई संघीय र प्रदेश सरकारले उपेक्षा गरेको टिप्पणी गरे ।
उनका अनुसार अन्य नगरपालिकाको तुलनामा रामधुनीलाई दिएको योजनामा पनि पक्षपात गरिएको छ । प्रमुख चौधरीले भने, ‘भौतिक पूर्वाधार, सामाजिक, शिक्षा, स्वस्थ्यको हिसाबले सरकारको योजनाको उपस्थिति निकै कमजोर छ ।’
उनले जनप्रतिनिधि निर्वाचित भएपछि तुलनात्मक रूपमा नगरकै बलबुताले विकास गरिरहेको बताए । नगरमा बालमैत्री स्थानीय शासन, पूर्ण सरसफाइ, कोभिड–१९ अस्पताल स्थापनामा जोड दिएको उनले बताए । उनले धार्मिक पर्यटन अन्तर्गत रामधुनी मन्दिरका लागि ५० लाख बजेट बिनियोजन गरेको बताए । त्यस्तै रास ताल शंकरबेली संरचना निर्माणको चरणमा रहेको बताए ।