विजयपुर/ सुनसरी जिल्लाभर चल्ने छोटो दूरीका सार्वजनिक तथा निजी यातायातका साधनहरू जोर बिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने भएको छ । जोरबिजोर प्रणाली आइतबारदेखि छठ पर्वको भोलिपल्टसम्म लागू हुनेछ ।

सुनसरी जिल्लाभरि छोटो दूरीमा चल्ने बस, कार, जिप, म्याजिक, टेम्पो, माइक्रो, ई–रिक्सा, मोटरसाइकल लगायतका यातायातका साधन जोर बिजोर प्रणालीमा मात्र सञ्चालन गर्नुपर्ने भएको हो । स्थानीय तहको अनुमतिमा सञ्चालन भएका जुनसुकै यातायातका साधन मूलसडक, बजार तथा बसपार्क क्षेत्रमा पार्किङ गर्न पनि नपाइने भएको छ । लामो दूरीबाट आएका यात्रुहरू ई–रिक्सा तथा टेम्पोहरूले भीडभाड गर्ने र त्यसो गर्दा कोरोना सङ्क्रमण बढ्ने भएकाले सो निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

स्थानीयस्तरमा चल्ने टेम्पो, ई–रिक्सा, माइक्रो, भ्यानलगायतका साधनहरूले सम्पर्र्क नम्बर दिनुपर्ने र आवश्यक पर्ने मानिसले फोन गरेर बोलाउनु पर्नेछ । साथै स्थानीयस्तरका यातायातका साधन बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ ।

यस्तै सुनसरी जिल्लाबाट छुट्ने लामो दूरीका यातायातका साधनहरू बिहान ७ बजे गन्तव्य स्थानतर्फ प्रस्थान गरिसक्नु पर्नेछ भने बाहिरी जिल्लाहरूबाट सुनसरी गन्तव्य भई आउने यातायातका साधनले बेलुका ९ बजेभित्र आइसक्न पर्नेछ । यी कुराको आवश्यक व्यवस्थापन १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयले गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी पोखरेलको अध्यक्षतामा असोज ३० गते बसेको बैठकले सो निर्णय गरेको हो । निर्णय असोज ३० गते भए पनि कार्यान्वयन आइतबारदेखि भएको प्रमुख पोखरेल जानकारी दिए । ‘सुनसरी जिल्लामा कोरोना भाइरसको सङ्क्रमण अत्यधिक भएकोले नियन्त्रणका लागि प्रयास गरिएको हो’ उनले भने, ‘यसलाई जनताले आफै अवलम्बन गर्नुहुन्छ भन्ने अपेक्षा छ, नगरेमा कडाइका साथ कार्यान्वयन गरिन्छ ।’

यता यातायातका साधन सञ्चालकले भने दशैँ तिहारदेखि छठ जस्तो महŒवपूर्ण चाडपर्वमा यातायातका साधन जोर बिजोर प्रणालीमा मात्र सञ्चालन गर्ने निर्णय उपयुक्त नभएको बताएका छन् । यातायात व्यवसायी अभिमन्यु श्रेष्ठले भने, ‘चाडपर्वमा हिँड्दा जोर दिनको बेला जोर नम्बर प्लेट भएको गाडी लिएर गइन्छ, भोलिपल्ट फर्कन बिजोर नम्बरको गाडी कहाँबाट ल्याउनु ?’ त्यसैले यो नियम अनुपयुक्त रहेको उनको भनाइ छ । अन्य यातायात व्यवसायी तथा व्यक्तिहरूले पनि चाडपर्वमा मोटरसाइकलसमेत जोर बिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने नियम असान्दर्भिक भएको बताएका छन् ।