धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेतालगायत चार जना मिलेर धनकुटाको चौबीसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन् ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका धनकुटा इन्चार्ज हेमराज भण्डारीसहित चौबीसे गाउँपालिका ३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बरालीले संयुक्त रूपमा खरिद गरेर गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरे । चौबीसे गाउँपालिका–३ कुरुलेतेनुपा घर भएका नेता भण्डारी पहिलो संविधानसभाका सदस्यसमेत हुन् । उनी हाल काठमाडौं बस्दै आएका छन् । करिब १३ लाख मूल्यको एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन् ।
एम्बुलेन्स अभावमा गाउँका बिरामीले अनाहकमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिएको संविधानसभा सदस्य हेमराज भण्डारीले बताए । गाउँपालिकामा कार्यक्रम आयोजना गरी दाताहरूलाई गाउँपालिका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचाललगायतले धन्यवाद दिए । अध्यक्ष र उपाध्यक्षलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । गाउँपालिकालाई एम्बुलेन्स प्रदान गर्ने दाताहरूलाई सम्मानित गरेको छ ।