विजयपुर/ सरकारले असोज २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार यातायात व्यवसायीले पूर्ण क्षमतामा यात्रु बोक्ने र साविकको भाडादर (चैत्र ११ अगाडिको जति नै) लिनुपर्ने निर्देशन दियो । तर, व्यवसायीले पूर्ण क्षमतामा यात्रु बोक्न थाले पनि भाडा भने साविकभन्दा ५० प्रतिशत बढी नै उठाएपछि यात्रुहरू मारमा परेका छन् ।

सरकारको निर्णय विपरीत धरानबाट भोजपुर, तेह्रथुम, सङ्खुवासभा, खाँदबारी, इलाम, पाँचथर, काँकडभिट्टा, विराटनगर र पश्चिम जाने तथा आउने यातायातका साधनले शनिबारसम्म ५० प्रतिशतदेखि सय प्रतिशतसम्म बढी भाडा लिएको पाइएको छ । यातायातका साधनले यात्रु पूर्ण क्षमता चढाउने र भाडा पनि ५० प्रतिशत बढी उठाउने गरेपछि यात्रुहरू दोहोरो मारमा परेका छन् ।

धरानदेखि इलाम, ताप्लेजुङ, फिदिमहुँदै दोभानसम्म जाने भानुचोक टिकट काउण्टरका कर्मचारी तुलसी सुवेदीले भाडा साविकको भन्दा ५० प्रतिशत बढी लिने गरेको बताए । उनले भने, ‘सरकारले भाडा घटाउने निर्णय गरेको सुनेको थिएँ, फेरि यथावत् राख्ने भन्ने सुनेपछि ५० प्रतिशत बढी नै लिन्छौं ।’ उनले अहिलेसम्म आधिकारिक निर्णय नआएकोले ५० प्रतिशत बढी भाडा लिएको बताए ।

त्यस्तै धरान–विराटनगर बसस्टेण्डका कर्मचारी दुर्गाप्रसाद फुयालले ५० प्रतिशत बढी भाडा लिने गरेको बताए । केही गाडीका सह–चालकहरूले प्रहरीले केही नभनेको हुनाले ५० प्रतिशत बढी नै भाडा लिने गरेको बताए । उनीहरूले यात्रु पनि कम भएकाले बढी भाडा लिएको बताए ।

धेरै बस व्यवसायीहरूले यात्रु ५० प्रतिशत मात्र हाल्ने र भाडा ५० प्रतिशत बढी उठाउने गरेको बताएका छन् । उत्तरी पहाडी संयुक्त बुकिङ काउण्टरका कर्मचारी सानबहादुर तामाङले भने, ‘सरकारले निर्णय गरेपछि यात्रु पूर्ण क्षमतामा र भाडा साविकको लिने गरेका थियौँ । तर, ट्राफिक प्रहरीले ५० प्रतिशत मात्र यात्रु हाल्नू भनेपछि पुनः ५० प्रतिशत बढी भाडा लिने गरेका हौं ।’

इटहरीबाट धरान आएका सिमोन यातायातका चालक कर्णबहादुर श्रेष्ठ भने आफूलाई अहिलेसम्म जानकारी नभएको बताए । उनले साविकको भाडा लिँदा तेल हाल्न पनि नपुग्ने बताए । सूर्योदय यातायातका सह–चालक अर्जुनले यात्रु नभएकोले साविकको भाडामा ल्याउँदा तेल हाल्न पनि नपुग्ने बताउँदै आफूलाई सरकारको निर्णयबारे भने जानकारी नभएको जनाए ।

यता इटहरीबाट धरान आएका यात्रु सञ्जय चौधरीले ६० रुपैयाँ भाडा तिरेको बताए । धरानबाट भोजपुर गएकी बिन्दा विश्वकर्माले ५० प्रतिशत बढि भाडा तिरेको बताइन् । यातायातका साधनमा पनि साना गाडि (ल्यान्डरोभर)ले साविकको भाडाको दोब्बरसम्म भाडा उठाउने गरेका छन् । सुनसरी यातायातको भानुचोक काउण्टरका कर्मचारी बिशाल राईले भाडाको विषयमा केहि जानकारी नभएकोले ५० प्रतिशत बढि भाडा लिने गरेको बताए ।

भानुचोकबाट ल्यान्डरोभरमा तेह्रथुम जान लागेका एक यात्रुले भाडा साविकको भाडा ६ सय रुपैया भएपनि १२ सय रुपैया लिएको बताए । उनले भने, ‘गाडीको क्षमताभन्दा ५० प्रतिशत कम बोक्ने भए ५ जना हाल्नुपर्ने हो तर ८ जना हालेका छन् । भाडा चाहिं दोब्बर लिए ।’

गाडी चालक कृष्णबहादुर राई सरकारले निर्णय गरेपनि यात्रु चढ्न नमान्ने भएकोले ५० प्रतिशत बढि भाडा लिएर कम यात्रु बोक्ने गरेको वताए । उनले भने, ‘बढि यात्रु बोक्ने सरकारको निर्णय ट्राफिक प्रहरीलाई पनि थाहा रहेनछ, पत्रिका देखाएपछि मात्र छोड्यो ।’

त्यस्तै अर्का चालक बिमल लिम्बु यात्रु नहुनाले रिजर्भ जस्तो हिड्नु परेकोले ५० प्रतिशत बढि भाडा लिनु परको बताउँछन् । चालक पुर्ण गजमेर पनि बढि भाडा नै लिने गरेको बताउँछन् । उनले प्रहरीले चालकहरुलाई बढि दुःख दिने गरेको पनि दावी गरे । उनले भने, ‘उत्ति नै मान्छे हालेरसँगै गएका थियौ, साथीलाई छोड्यो मलाई २ घण्टा रोक्यो ।’

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल असोज २६ गते नै सरकारको निर्णय भएकोले यातायातका साधनले आफ्नो पुर्ण क्षमता यात्रु बोक्न पाउने र भाडादर साविक (चैत्र–११ गते ) भन्दा अगाडीको लिनुपर्ने बताए ।

शुक्रबार भानुचोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई ब्लाष्टकर्मीले बुझ्दा कुनै परिपत्र जानकारी आफुलाई नआएकाले पुर्ण यात्रु बोक्न नदिएको वताएका थिए । तर, उनीहरुकै अगाडीबाट ५० प्रतिशत कम यात्रु बोक्दा ५ जना यात्रु हनुपर्ने गाडीले ८ जनासम्म यात्रु हालेर पहाडी क्षेत्रतिर गइरहेका थिए ।

यस विषयमा प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख सन्दीप शर्मालाई बुझ्दा निर्णय असोज २६ गते भएपनि आफुलाई औपचारिक जानकारी शुक्रबार रातको १२ बजे मात्र आएकोले शनिबार बिहानदेखि कार्यान्वयनमा लिएको वताए । तर, यातायात व्यवसायीले भने शनिबार बेलुकासम्म पनि यात्रुसँग ५० प्रतिशत बढि नै भाडा लिएको सवारीसाधनका चालकहरुले नै बताएका छन् ।