विजयपुर । ६५ औं प्रहरी स्थापना दिवसको अवसर शुक्रबार धरानस्थित संघीय प्रहरी इकाई कार्यालयले १६ जना जग्गादातालाई सम्मानित गरेको छ ।
 
प्रहरी कार्यालय स्थापनार्थ योगदान गर्ने प्रदेश १ का विभिन्न स्थानका १६ जना जग्गादातालाई सम्मानित गरिएको हो । उनीहरूलाई सम्मान–पत्रले सम्मानित गरिएको छ । इलाका प्रहरी चौकी रामधुनीका लागि जग्गा प्रदान गर्ने मंगली र नन्दलाल चौधरी, रामधुनी–७ मा प्रहरी चौकी स्थापनाका लागि जग्गा प्रदान गर्ने बाजीहाङ राई, रामधुनी–२ मा प्रहरी चौकीका लागि जग्गा प्रदान गर्ने कल्पना कोइराला साथै रामधुनी–६ मा इलाका प्रहरी कार्यालय स्थापनार्थ जग्गा प्रदान गर्ने शान्तिबहादुर अधिकारी, प्रेमप्रसाद कोइराला, गुरुप्रसाद कोइराला र ललित साह तेलीलाई सम्मानित गरिएको हो ।
 
police_diwas (1)
 
त्यस्तै इटहरीको तालतलैयामा अस्थायी प्रहरी चौकी निर्माणमा जग्गा दिने चन्द्रप्रसाद खतिवडा, हरि खतिवडा, चिन्तामणि खतिवडा, विन्द्रप्रसाद खतिवडा, सरोज खतिवडा र बालकृष्ण खतिवडालाई पनि सम्मानित गरिएको छ । साथै खोटाङको दिप्रुङ चुइचुम्मामा प्रहरी चौकी निर्माण गर्न जग्गा दिने ज्ञानबहादुर राई, मानबहादुर खत्रीलाई पनि सम्मानित गरिएको हो ।
 
कार्यक्रमका प्रमुख अतिथि सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल, धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राई, संघीय प्रहरी इकाई धरानका प्रमुख एसएसपी राजेन्द्रप्रसाद चौधरीलगायतले सम्मानितहरूलाई सम्मान–पत्र प्रदान गरे ।
 
यसक्रममा एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने प्रहरी सेवामा कार्यरत प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिएको छ । जसमा समीर ठाकुर, विपन श्रेष्ठ, अनिराज बास्फोर र आरती राई छन् । आरती विष्णु मेमोरियलबाट उत्तीर्ण गरेकी हुन् भने अन्य सबै प्रहरी स्कुलबाट एसईई उत्तीर्ण गरेका थिए ।
 
प्रमुख अतिथि प्रजिअ पोखरेलले प्रहरी संगठनको काम गराईका कारण पनि पछिल्लो समय विभिन्न स्थानमा माग हुँदै आएको बताए । तर, दरबन्दी अभावका कारण माग भएबमोजिमका स्थानमा पूर्ति गर्न नसकिएको उनले बताए । त्यस्तै विशेष अतिथि धरान उपमहानगरका प्रमुख तिलक राईले प्रहरीका परिवारलाई अवकाशपछि पनि सम्मानपूर्वक बाँच्ने नीति सरकारले ल्याउनुपर्ने बताए ।
 
police_diwas (2)
कार्यक्रममा सभापतिसमेत रहेका संघीय प्रहरीका प्रमुख एसएसपी चौधरीले प्रहरी पनि समाजकै अंग भए पनि प्रहरीको आफ्नै ‘चेन अफ कमाण्ड’ अनुसार काम गर्ने बताए । त्यसमा नागरिकको सहयोगबिना प्रहरीले अपराध अनुसन्धान पूर्ण गर्न नसक्ने उनले बताए ।
 
police_diwas (3)
 
तस्बिरहरूः उपेन्द्र चाम्लिङ