कालाबञ्जार । वराहक्षेत्र–४ र ५ नम्बर वडामा अवस्थित अमाह सामुदायिक वन समूहभित्र रहेको खोलाबाट उत्खनन रोक्ने प्रयास गर्दा वनका अध्यक्षमाथि धम्की आएको छ ।

अध्यक्ष भोजराज घलेले बिहीबार पत्रकार सम्मेलन गरेर आफूमाथि विभिन्न समूहले सिध्याउने धम्की दिएको बताए । अव्यवस्थित रूपमा खोला उत्खननको प्रयास गर्दा अध्यक्ष घलेले त्यसविरुद्ध आवाज उठाएका थिए । तर, तीन वर्षअगाडि ठेक्का प्राप्त गरेको सुनसरी क्रसर उद्योगले खोलाबाट ढुंगागिटी उत्खनन गरिरहेको छ ।

मेसिन प्रयोग गरेर ढुंगागिटी निकासी गर्न खोजेपछि अध्यक्ष घलेले त्यसविरुद्ध आवाज उठाएका थिए । उनले मेसिन प्रयोग नगरी ढुंगागिटी निकाल्नका लागि आग्रह गर्दा केही समूहले आफूमाथि फोन गरेर ज्यान मार्नेसम्म धम्की दिएको बताए । जथाभावी उत्खननले गर्दा वन क्षेत्र कटान बढेपछि समिति र स्थानीयले नगरपालिकामा निवेदन दिएपछि आफूमाथि ज्यान मार्ने धम्की आएको उनले बताए ।

नदीजन्य पदार्थ ठेक्का लगाउनु पूर्व नगरपालिकाले मागेको राय र सुझावको प्रतिउत्तरमा समूहले स्थलगत अनुगमनगरी मात्र ठेक्का लगाउनु राय सुझाव पेश गरेको थियो । सोही कुरालाई लिएर मंगलबार राति १० बजे अध्यक्ष घलेलाई क्रसर तथा उत्खनन गर्ने व्यक्तिहरूले मोबाइलमार्फत् ‘दिन गन्, औला भाँच, तिमी मलाई सिध्याउ कि अब तिमी नै सिधिन्छौ’ भन्दै धम्क दिएको बताए ।

उनले आफूलाई चूडामणि पौडेलले धम्क दिएको पत्रकार सम्मेलनमा बताए । उनले सो समयमा सार्वजनिक गरेको श्रव्य सामग्रीमा पनि चूडामणिले ‘गिट्टी बालुवा निकाल्न रोक्ने तिमी को हौ, दिन गन्दै जा’ भनेर धम्की दिएको सुन्न सकिन्छ । पौडेलले पुनः अर्को व्यक्तिलाई फोन दिएका छन् । ती व्यक्ति मणि राई हुन् ।

अध्यक्ष घलेले आफूमाथि सिध्याउने धम्की आएकाले सुरक्षाको माग गरेका छन् । घटनाप्रति सम्बन्धित वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, मानवअधिकार संस्थामा जानकारी दिएको घलेले बताए ।