विराटनगर । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिक ग्राम निर्माणबारे छलफल गरेको छ ।

ग्रामथानका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ज्येष्ठ नागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ ।

ज्येष्ठ नागरिक ग्राममा रहने चिल्ड्रेन पार्कको निर्माण ग्रामथान गाउँपालिकाले गर्नु पर्नेछ । १० बिघा १४ कठ्ठामा निर्माण गरिने ज्येष्ठ नागरिक ग्रामको विस्तृ आयोजना प्रतिवेदन (डिपीआर) लगायतका काम सम्पन्न भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भवन निर्माणको शिलान्यास चाँडै गर्ने गरी मन्त्रालयले कामअघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले परियोजना शुरु भएपछिको वातावरण सहज बनाउन आग्रह गरे ।

छलफल कार्यक्रममा सहभागि प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास, गाउँपालिका अध्यक्ष शिवनारायण माझीलगायतले परियोजना कार्यन्वयनमा जोड दिए ।