खाँदबारी/ सिसुवाखोला पहिरो पिडितहरुको लागि यो साता ९ लाख ८२ हजार ६ सय ६५ रकम सहयोग प्राप्त भएको छ । विभिन्न संघसंस्था तथा व्यक्तिहरुले रकम संकलन गरि गाउँपालिकाको सिसुवाखोला पहिरो पिडित राहत कोषलाई हस्तान्तरण गरेको हो ।
संखुवासभा समाज हङकङले सिलिचोङका पहिरो पिडीत परिवारहरुलाई ५ लाख ५ हजार ५ सय ५५ रुपैया र बरुण बहुमुखी क्याम्पसले २५ हजार रुपैया नगद सहयोग गरेको छ । अघिल्लो बुधबार एक कार्यक्रम बिच सिलिचोङ गाउँपालिका–२ बुधबारे बजारमा आयोजित कार्यक्रममा संखुवासभा समाज हङकङ, संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष तथा बरुण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टीकाराम गुरुङले सिलिचोङ गाउँपालिका अध्यक्ष तथा पहिरो पिडीत राहत संकलन तथा वितरण समितिका संयोजक रामबहादुर कुलुङलाई चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण गर्दै प्रतिष्ठानका अध्यक्ष गुरुङले यो दुःखको समयमा केही महल्मपट्टि लगाउने मनशायले संखुवासभा जिल्लाका विभिन्न ठाउँ र भूगोलबाट प्रवास हङकङ बसेर कर्मथलो बनाइरहेको संखुवासभाली स्वच्छ मन भएका दाताहरुबाट उहाँहरुले रगत पसिनाले कमाउनु भएको रकमको केही हिस्सा सामाजिक कार्यमा सहयोग गर्ने उद्धेश्यले संकलन गरेर यहाँका पहिरो पिडीतहरुको लागि पठाएको बताउर्दै हामीले स्थलगत रुपमा सहयोग रकम हस्तान्तरण गर्न आएको बताए ।
यसअघि पनि संखुवासभा समाज हङकङले जिल्लामा परेको विभिन्न दुःखपिडा र प्राकृतिक विपत्तिहरुमा परेको घटनाहरुमा सहयोग गर्ने गरेको समेत जानकारी दिए । सोही कार्यक्रममा बरुण बहुमुखी क्याम्पसको तर्फबाट समेत २५ हजार रुपैयाको चेक हस्तान्तरण गरिएको थियो । त्यसैले पनि बरुण क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीबाट सहयोग रकम जम्मा गरेर सहयोग रकम लिएर आएको क्याम्पस टिकाराम गुरुङले भने ।
बरुण बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा प्रतिष्ठानका सचिव किरणकुमार शाक्यले जोखिम क्षेत्रका पिडीतहरुलाई दीगो रुपमा पुर्नस्थापनाका लागि नै हङकङ समाजले ५ लाख रुपैया बजेट पठाएको भन्दै सहि ठाउँमा सदुपयोगका लागि अनुरोध गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्र्दै सिलिचोङ गाउँपालिकाका कार्यपालिका सदस्य नरभूपाल राईले पिडीतहरुको लागि चाँडो भन्दा चाँडो गरि स्थायी पुर्नबासको काम गरिरहेको बताए । उनले पिडीतहरुलाई सुरक्षित स्थानमा सार्नका लागि जग्गाको खोजी गर्न समिति गठन गरेर काम अगाडि बढिसकेको र अबको केही समयपछि स्थायी पुर्नबासमा सारिने बताए ।
सहयोग रकम बुझ्र्दै गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले सके जति सिंगो गाउँपालिका पिडीतको बिषयमा नै केन्द्रित भएको बताए । उनले अहिले तत्कालै १ सय ३८ घर विस्थापित मध्ये १ सय ६ घरलाई अस्थायी टहरा निर्माण गरेर राखिएको बताउदै उनीहरुलाई तत्कालै सुरक्षित रुपमा दीर्गा पुर्नस्थापना गर्नका लागि जग्गाको खोजी भइरहेको बताए ।
गएको असरा २७ गते राति अविरल बर्षाको कारण सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँका ११ जना पहिरो परि बेपत्ता भएका छन् । हाल सम्म उनीहरुको केही चिनो चपेटो समेत भेटिएको छैन् । पहिरोको समयमा हृदयघातका कारण एकजनाको मृत्यू भएको थियो । भने नौ घर बगाएको थियो । उक्त पहिरोबाट १ सय ३८ घर विस्थापित भएका छन् । त्यसमध्ये १ सय ६ घर पूर्ण रुपमा विस्थापित भएका छन् । अहिले बुधबारे बजारमा २९ घरपरिवार, पौखमटारमा २० घरपरिवार र चित्रेमा ५७ घर परिवारलाई अस्थायी टहरा निर्माण गरेर राखिएको छ ।
त्यस्तै यसै साता सिलिचोङ गाउँपालिका वडा नं. १ सिसुवाखोलाको पहिरो पिडितहरुको लागि ४ लाख ५२ हजार १ सय दश रुपियाँ रकम सहयोग प्राप्त भएको छ । मेवाहाङ ब्रोद्र्स टिम र सङ्गीता मेवाहाङ मार्फत सिसुवाखोला पहिरो पिडितहरुको लागि राहत सहयोग प्राप्त भएको हो । मेवाहाङ ब्रोदर्स टिमका राजन र राकेश मेवाहाङमार्फत संकलित २ लाख ५१ हजार ७ सय पचास रुपियाँ र संगीता मेवाहाङ मार्फत संकलित २ लाख चार सय दश रुपैयाँ रकम सिसुवाखोला राहत कोषमा हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष राम बहादुर कुलुङलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । सहयोग रकम बुझ्दै अध्यक्ष कुलुङले सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
यता सहयोग रकम बुझाउँदै राजन मेवाहाङले विपतको घडीमा आफ्नो टिम मार्फत संकलनमा सहयोग गर्नेलाई धन्यावाद ज्ञापन गरे । उनले विपतमा सबैले डटेर सामना गर्नेुपर्ने भनाई राखे । सहयोग रकम संकलन गरेर हस्तान्तरण गरेकी संगीता मेवाहाङले पनि गाउँपालिकाले व्यवस्थापन गर्ने स्थाई पुनःर्वास व्यवस्थापनमा खर्च गर्न सुझाएका छन् । अस्थाई टहरोमा रहेकाहरुलाई स्थाई बास व्यवस्थापनको लागि गाउँपालिका जुटेको छ । गाउँपालिकाले जग्गा व्यवस्थापनको लागि पालिकाको विशेष समिति नै बनाएर जग्गा खोजी कार्य तिव्र रहेको गाउँपालिका अध्यक्ष राम बहादुर कुलुङले बताए । उनले स्थाई पुनःर्वास निर्माण तथा व्यवस्थापनमा सबैले सहयोग र समन्वयमा सहयोग गर्न अनुरोध गरेका छन् ।
गाउँपालिकामा हालसम्म सिसुवाखोला पहिरो पिडितहरुको लागि विभिन्न सहयोगीहरुमार्फत ५० लाख बढि रकम संकलन भईसकेको छ भने सहयोगीहरुले सहयोग गर्ने क्रम निरन्तर रहेको गाउँपालिकाले जनाएको छ ।