इनरुवा/ कोरोनाले गाँज्दै गएको समुदाय पछिल्लो केही सातायता जटिलताउन्मुख छ । दिनानु दिन कोरोना समुदायमा भुसको आगो सरह फैलिरहेको छ ।
सङ्क्रमण बढ्दै जानुलाई जिल्लास्थित सरोकारवाला निकायले नागरिकको असावधानी र हेल्चेक्र्याइँ नै प्रमुख कारकका रूपमा देखापरेको बताउँदै आएका छन् ।
यस्तोमा जिल्लाकै प्रमुख अड्डाबाटै चुक भएको भेटिएको छ । असावधानीपूर्वक सम्पादित कार्यालयको सेवा प्रवाहप्रति प्रश्नचिन्ह खडा भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बिहीबार देखिएको सेवाग्राहीको अव्यवस्थित भीडको दृश्य यतिबेला सिडिओ कार्यालयको लागि लज्जाको विषय बनेको छ । सामाजिक सञ्जालमा टीकाटिप्पणीसमेत हुन थालेको छ ।
बिहीबार कार्यालयमा नागरिकता बनाउन पुगेका सेवाग्राहीको भीड अव्यवस्थित देखिन्थ्यो । जहाँ कार्यालयले भौतिक दूरी कायम गराउन सकेको देखिएन । त्यतिमात्र नभएर हतार–हतार आफ्नो पालो पहिलो बनाउन ठेलमठेल गरिरहेका सेवाग्राहीसमेतले भौतिक दूरीको खिल्ली उडाइरहेको स्पष्ट देखिएको थियो ।
कार्यालय समयमा देखिएको उक्त दुवै प्रवृत्ति कोरोना महामारीका बीच अपनाइनु पर्ने स्वास्थ्य सावधानी विपरीत थियो । जसलाई प्रमुख जिल्ला अधिकारी रहने प्रमुख प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालयले खासै चासो दिएको देखिएन ।
जसले कोरोनाको जोखिम बढाएको स्वयम् कार्यालयका कर्मचारीहरूले बताए । केही सेवाग्राहीले महामारीको समयमा कार्यालयले दूरीसहितको पूर्व तयारी अपनाउन नसक्नु दुःखद् भएको बताए । जसलाई उनीहरूले प्रशासनको कमजोरीका रूपमा औंल्याए ।
भीडभाडकै कारण भूमि सुधार तथा मालपोत कार्यालयमा कोरोना सङ्क्रमित भेटिएपछि एक सातायता सेवा बन्द छ । कर्मचारीसहित लेखापढी व्यवसायी कोरोनासँग मिल्दोजुल्दो लक्षणका कारण थलिएका छन् ।
भुसको आगोसरह फैलिइरहेको कोरोनाका बीच प्रशासन कार्यालयमा देखिएको चुकले भयावह अवस्था ननिम्त्याउला भन्न सकिने अवस्था छैन । त्यसतर्फ बेलैमा ध्यान दिनु आवश्यक रहेको अधिकारकर्मी रमेश भट्टराई बताउँछन् ।
कामविशेषले प्रशासन कार्यालय पुगेका भट्टराईले सेवाग्राहीको अव्यवस्थित भीडले मनमा त्रास बढाएको बताए । उनले भने, ‘नियामक निकायका रूपमा रहेको जिल्लाकै प्रमुख अड्डामै लापरबाही हुन्छ भने अन्यको के भर ?’ महामारीको जोखिम घटाउन कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित र स्वास्थ्य मापदण्ड अनुरूप सञ्चालनमा ल्याइनु पर्ने उनको भनाइ छ ।
उता जिल्ला प्रशासन कार्यालय सुनसरीले भने कार्यालय खुलेलगत्तै सेवाग्राही भागदौड गर्दै कार्यालयभित्र प्रवेश गरेकाले भीड देखिएको जनाएको छ । जसलाई पछिबाट नियन्त्रित गरी सेवा प्रवाह गरिएको र आगामी दिनमा सावधानीपूर्वक सेवा प्रवाहको बन्दोबस्त मिलाइने जनाएको छ ।