विराटनगर/ नेपाल–भारत सीमा दशगजा क्षेत्र विराटनगर–१६ दक्षिणी गेटनजिकै भारतीयले ट्याक्टर र ट्रकमा ल्याएर फोहोर फाल्ने गरेको पाइएको छ ।
भारतको जोगवनी बजारदेखि निस्किएको फोहोर दशगजा क्षेत्रमा वर्षौंदेखि फाल्ने गरेको विराटनगरका स्थानीयले बताएका छन् । भारतले ट्याक्टर र ट्रकमा फोहोर ल्याएर फाल्दा विराटनगर–१६ को हुलास मेटल चौक र दक्षिणी गेटका स्थानीय दुर्गन्धले हैरानी व्यहोर्नु परेको बताउँछन् ।
जोगवनीको बजार क्षेत्र, सडक तथा नालाबाट निकालेको फोहोर ल्याएर दशगजा क्षेत्रमा फाल्ने गरेको विराटनगर–१६ का मोहम्मद मुस्तार हुसेनले बताए । फालिएका फोहोर सडेर दुर्गन्धित बन्दा पनि महानगरपालिका र स्थानीय प्रशासनले दशगजा क्षेत्रमा फोहोर फाल्न नदिन कुनै चासो नदेखाएको उनको भनाइ छ । फोहोरको डङ्गुर हुँदा यहाँका स्थानीय दुर्गन्ध र त्यसले पार्ने असरले प्रभावित भएका छन् ।
फोहोरसँगै मरेका जीवजन्तुहरू पनि दशगजा क्षेत्रमा ल्याएर फाल्ने गरेका छन् । ‘फोहोरबाट आउने दुर्गन्धले सास फेर्न गाह्रो हुने गरेको छ’ स्थानीय हुसेनले भने, ‘फोहोरको दुर्गन्धले हैजा फैलिन सक्ने खतरा बढेर गएको छ ।’ भारतीयलाई फोहोर फाल्न रोक्न यहाँका प्रशासनले पनि कुनै पहलकदमी नगरेको उनको भनाइ छ । ‘दशगजा क्षेत्रमा फोहोर फाल्न रोक लगाइदिनुपर्यो भन्दै यहाँका स्थानीय भारतको नगर पञ्चायतसम्म गएर भनेका थियौं’ विगत सम्झिँदै हुसेनले भने, ‘तर, अहिलेसम्म भारतीयले फोहोर फाल्न छाडेका छैनन् ।’ भारतीयले दशगजा क्षेत्रमा फालेको मरेका जीवजन्तुको सिनो पनि विराटनगर–१६ का स्थानीयले उठाउने गरेका छन् । ‘दुर्गन्धित भएर बसिनसक्नु भएपछि फालेको सिनो पनि हामीले उठाएका छौं’ उनले भने, ‘दशगजा क्षेत्रमा फालेका फोहोरको दुर्गन्धले गर्दा नाक थुनेर खाना खानु पर्छ ।’ विराटनगर–१६ को दक्षिणी गेटको दशगजामा भारतले करिब ५ सय मिटर क्षेत्रमा फोहोर फाल्ने गरेको छ । सो क्षेत्र अहिले जोगवनी बजारबासीको फोहोर फाल्ने डम्पिङ साइडजस्तै बनेको छ । जोगवनी बजारको फोहोर ट्याक्टर, ट्रक र ठेलामा ल्याएर दशगजा क्षेत्रमा दैनिक बिहान र साँझपख फाल्ने गरेको स्थानीय बताउँछन् । भारतीयले दशगजा क्षेत्रमा फोहोर फाल्न थालेको तीनवर्ष भएको स्थानीय नारायण साहले बताए ।
‘यहाँ फोहोरको डङ्गुर हुन थालेको करिब तीन वर्ष जति भयो’ उनले फोहोरको थुप्रो देखाउँदै भने, ‘आवत–जावत गर्दा नाक थुनेर हिँड्ने गरेका छौं ।’ महानगरपालिकालाई दशगजा क्षेत्रमा भारतीयलाई फोहोर फाल्न नदिन पहल गरिदिन पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
जथाभावी फोहोर फाल्दा र उचित व्यवस्थापन हुन नसक्दा विभिन्न रोग फैलन सक्ने कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काले बताए । फोहोरकै कारणले झाडापखाला, हैजा, जण्डिस, मलेरिया, टाइफाइडलगायत विभिन्न प्रकारका रोगहरू लाग्न सक्ने उनले जानकारी दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले दशगजा क्षेत्रमा फोहोरजन्य कुनै पनि वस्तु फाल्न र राख्न नपाइने बताए । ‘नेपाल–भारतको सीमा दशगजा क्षेत्रमा फोहोर फालिएको भेटिए भारतसँग पहल गरेर हटाउन लागिपर्नेछौं’ –उनले भने । विराटनगर–१६ का वडाध्यक्ष मनोज सुब्बाले भारतीय पक्षलाई बारम्बार फोहोर दशगजा क्षेत्रमा नफाल्नू भन्दा केही दिन नफाले पनि २–३ दिनपछि पुनः फाल्न थालेको बताए । ‘वडाबासीले गुनासो गरेपछि महानगरपालिकाका प्रमुखसहित मैले केही दिनअगाडि अनुगमन गरेपछि दशगजा क्षेत्रमा फोहोर नफालिदिनू भनेर भारतीय पक्षसँग कुराकानी गरेका थियौं’ उनले भने, ‘हामीले भनेपछि २–३ दिनसम्म रोकियो पनि । अहिले फेरि सुरू हुन थालेको छ ।’ दशगजा क्षेत्रमा फोहोर फाल्न नदिन पहल गर्ने उनको भनाइ छ ।