इनरुवा/ सुनसरीका विभिन्न स्थानमा आयोजित पार्टी प्रवेश कार्यक्रमले समुदायमा कोरोनाको जोखिम बढाएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले पार्टी प्रवेश कार्यक्रमका नाममा अत्यधिक भीडभाड हुन थालेको भन्दै सतर्कता अपनाउन आग्रहसमेत गरेको छ । सयौंको सङ्ख्यामा कार्यकर्ता भेला गरी प्रवेश कार्यक्रम आयोजना भइरहँदा पर्याप्त मात्रामा स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने गरेको नपाइएको हुँदा त्यसले समुदायमा कोरोना सङ्क्रमणको जोखिम बढाएको स्वास्थ्य कार्यालयको ठहर छ ।

स्वास्थ्य प्रमुख सागर प्रसाईंले लकडाउन खुलेसँगै आयोजना हुन थालेका दलविशेष कार्यक्रममा असावधानीपूर्वक उपस्थिति बाक्लिन थालेको भन्दै समुदायमा जोखिम बढ्न सक्नेतर्फ चिन्ता व्यक्त गरे । उनले भने, ‘भित्रभित्रै सङ्क्रमण बढ्दो दरमा छ । त्यसैलै पूर्णरूपमा सावधानीका उपाय अवलम्बन गर्नुको विकल्प छैन ।’

प्रसाईंले जिम्मेवार दलका उच्च ओहदाका नेताहरूकै उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना नगरी भइरहेका कार्यक्रम र अव्यवस्थित भीडभाडको विषयमा प्रशासन समक्ष जानकारी गराइसकेको बताए । उनले लकडाउन खुले पनि सङ्क्रमण बढ्दो क्रममा रहेकाले सभा, सम्मेलन र भेलाहरू सञ्चालनमा रोक लगाउनुपर्ने बताए । प्रसाईंले बढ्दो हेल्चेक्र्याइँले दुर्घटना निम्त्याउनेतर्फ सबै सजग हुनु आवश्यक रहेको बताए ।

पछिल्लो केही सातायता सुनसरीको इनरुवासहित आसपास र छिमेकी पालिकाहरूमा दैनिकजसो पार्टी प्रवेश, कार्यकर्ता प्रशिक्षण र भेलाजस्ता कार्यक्रम भइरहेका छन् । त्यस्ता कार्यक्रममा देखिने सर्वसाधारणको बाक्लो उपस्थितिलाई स्वास्थ्यकर्मीहरूले सम्भावित कोरोना जोखिमका रूपमा हेरेका छन् ।

एक सातायता मात्रै इनरुवाका विभिन्न वडासहित भोक्राहा नरसिंह र हरिनगर गाउँपालिका लगायतका क्षेत्रमा पार्टी प्रवेश कार्यक्रम आयोजना भएका छन् । अन्य विभिन्न पालिकामा समेत पार्टी प्रवेश र प्रशिक्षण कार्यक्रम भइरहेका छन् भने केहीमा सञ्चालनको तयारीमा रहेको स्वयम् नेताहरूले नै बताएका छन् । उक्त कार्यक्रमहरूलाई स्वयम् सत्तारुढ दल नेकपा र नेपाली काङ्ग्रेसले आयोजना गर्दै आएका छन् ।

आयोजकहरूले स्वास्थ्य मापदण्ड अपनाई कार्यक्रम आयोजना गरिएको दाबी गरे पनि कार्यक्रमस्थलमा अत्यधिक भीड रहने गरेको जानकारी आइरहेको स्वास्थ्य कार्यालयका कर्मचारीहरू बताउँछन् ।

त्यस्ता कार्यक्रमका बारेमा कार्यालयमा जानकारी प्राप्त भएको बताउने स्वास्थ्य कार्यालय सुनसरीले पार्टी प्रवेशजस्ता कार्यक्रममा भौतिक दूरीको पूर्ण पालना नगरेको तथा मास्क र साबुन पानीको अनिवार्यता नभएको जस्ता गुनासा स्वयम् सम्बन्धित क्षेत्रका स्थानीयले दिने गरेको जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईं भन्छन्, ‘कोरोना समुदायस्तरमा प्रवेश गरिसकेकाले स्वयम् सचेत रहनु आजको प्रमुख आवश्यकता हो । यदि भीडभाडमा सहभागीमध्ये कसैमा सङ्क्रमण देखापरे त्यसले थप जोखिम निमत्याउनुका साथै अवस्था भयावहसमेत बनाउन सक्छ ।’

यसैबीच सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जिल्लामा बढ्दै गएका पार्टीका कार्यक्रम र बढ्दो भीडभाडको विषय जानकारी आएको बताए । उनले कोरोनाको जोखिम दिनानु दिन बढ्दो क्रममा रहेकाले भीडभाड नगर्ने र स्वास्थ्य सावधानीका उपाय अनिवार्य अवलम्बन गर्ने विषयमा छलफल डाक्ने बताए । प्रजिअ पोखरेलले जिल्लास्थित दलका प्रमुखलगायत सरोकारावालासहितको उपस्थितिमा बैठक राखी सो विषयमा आवश्यक निर्णय लिइने बताए ।

यता इनरुवासहितका विभिन्न स्थानमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका एक नेतामा सङ्क्रमण पुष्टि भएको छ । कार्यक्रममा सहभागी भइरहँदाको अवस्थामा ज्वरो आएका ती नेताको पीसीआर परीक्षणपछि रिपोर्ट पोजेटिभ आएको पाइएको छ ।

सङ्क्रमित व्यक्तिले आफ्नो पहिचान नखुलाए पनि कार्यक्रममा सहभागी अन्य नेताहरूले सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् । उनीहरूले कार्यक्रममा सहभागी हुँदै आएका नेतामा सङ्क्रमण देखिएपछि आफूहरूसमेत कोरोना परीक्षणको तयारीमा रहेको बताए ।