विजयपुर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरसबाट मृत्यु भएका लालबहादुर माझीको मृत्यु संस्कार गर्न मङ्गलबार वराहक्षेत्र नगरपालिका–३ भरौल गएका आफन्तलाई नगरप्रमुखसहित स्थानीय जनप्रतिनिधिले रोकेपछि समस्या भएको छ ।

आफ्नो मतदाता र स्थायी बसोबास नभएको भन्दै वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल र वडाध्यक्ष रुद्रबहादुर दाहालले मृत्यु संस्कार गर्न नदिएको मृतकका छोरा दुर्गाप्रसाद माझीले बताए । प्रमुख खनालले वराहक्षेत्र नगरपालिकाभित्र कसैलाई कोरोना पोजेटिभ देखिएमा त्यसको जिम्मा लिने लिखित प्रतिबद्धता जनाएपछि मात्र संस्कार गर्न दिने नत्र नदिने भनेपछि आफूहरू समस्यामा परेको उनले बताए ।

मिर्गाैलाको नियमित डाइलाइसिस गराइरहेका माझीको सोमबार प्रतिष्ठानमा मृत्यु भएको थियो । उनको शव कोभिड गाइडलाइन अनुसार नगरपालिकाले नै व्यवस्थापन गरेपछि मङ्गलबार मृतकका आफन्त मृत्यु संस्कारका लागि भरौल गएका थिए । आफ्नो धार्मिक संस्कारअनुसार कुसको शव बनाएर बाङ्गेस्थित चतरा नहरमा अन्तिम संस्कारमा पुगेका आफन्तलाई वराहक्षेत्र नगरपालिकाका प्रमुख खनालको निर्देशनमा प्रहरीले रोकेको थियो । प्रमुख खनालले धरानबाट पीसीआर रिपोर्ट लिएर आएपछि मात्रै संस्कार गर्न बस्नू भनेर रोकेको मृतकका छोरा दुर्गाप्रसाद माझीले बताए । उनले गुनासो गरे, ‘हामी घरभित्रै क्वारेण्टिनमै बसेर संस्कार गर्छौं । बाहिर निस्कँदैनौं भन्दा पनि नगर प्रमुख र वडाध्यक्षले मानेनन् ।’

वराहक्षेत्रका नगरप्रमुख खनालले वराहक्षेत्रबाट बसाइ सरेर गइसकेको र स्थायी बासिन्दा नभएकाले रोकेको बताए । उनले भने, ‘उनी नगरका स्थायीवासी र मतदाता नभएकोले धरानमै गएर मृत्यु संस्कार गर्नू भनेको हुँ ।’ मृतकका आफन्तले भने आफ्नो जग्गा त्यहीँ भएको र आफन्त सबै सो ठाउँमा भएकोले मृत्यु संस्कार गर्न त्यहाँ गएको बताएका छन् ।

वडाध्यक्ष रुद्रबहादुर दाहालले पीसीआर रिपोर्ट ल्याएर काम गर्नू भनेको बताए । उनले भने, ‘हामी मृत्यु संस्कार नगर्नू भनेर भन्न सक्दैनौं र भनेको पनि होइन । पीसीआर रिपोर्ट आएपछि गर्नू भनेका हौं ।’

सरकारले कोरोना सङ्क्रमण भएका मानिसको सम्पर्कमा भए पनि लक्षण नदेखिएकालाई पीसीआर चेक गर्नु पर्दैन भनेको छ । पीसीआर चेक गर्दा पनि रिपोर्ट आउन २–३ दिनसम्म लाग्छ । यस्तो अवस्थामा रिपोर्ट ल्याएर मात्र संस्कार गर्नू भन्ने जनप्रतिनिधिको भनाइले समस्या उत्पन्न भएको मृतक माझीका आफन्तको गुनासो छ ।

नगर प्रमुख र वडाध्यक्षले अनुमति नदिए पनि स्थानीयवासीले भने मृत्यु संस्कार गर्न पाउने भन्दै सहयोग गरेपछि आफूहरूले संस्कार गरेको माझीका छोरा दुर्गाप्रसादले फोन सम्पर्कमा बताए । उनले भने, ‘हाम्रो जग्गा–जमीन यहीँ भएको र सबै आफन्त पनि रहेकोले यहीँ आफ्नो संस्कार गर्न जनप्रतिनिधिले रोके पनि यहाँको समाजले सहयोग गरेको छ ।’