भद्रपुर। झापाको हल्दीबारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको बिचको विवादले गाउँपालिकामा कार्यरत कर्मचारीसहित शिक्षक तथा स्वास्थ्यकर्मीले तीन महिनाको तलब भत्ता पाएका छैनन् । विवादका कारण गाउँपालिकाको प्रशासनिक कामकाज विगत तीन महिनादेखि प्रभावित बनेको छ ।
साउन, भदौ र असोज (दसैँ पेस्की)सहितको तलब भत्ता माग गर्दै गाउँपालिकाका कर्मचारीले पटक – पटक प्रमुख प्रशासकीय अधिकृतलाई लिखित रुपमै ज्ञापनपत्र बुझाइसकेका छन् । तर, कर्मचारीहरुको माग सम्बोधन हुन सकेको छैन । माग सम्बोधन नभएपछि कर्मचारीले मङ्लबारदेखि अनिश्चितकालीन सेवा ठप्प बनाएका छन् । गाउँपालिकामा कार्यरत सबै कर्मचारीले तलब सुविधाको माग राख्दै सोमबार सामूहिक हस्ताक्षर गरेको ज्ञापनपत्र प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहाललाई बुझाएका थिए ।
कर्मचारीले सेवा ठप्प बनाउँदा गाउँपालिकाको कामकाज थप प्रभावित बन्न पुगेको छ । गाउँपालिका भित्रको विवादले जनताको सेवामा अहरोत्र खटिने कर्मचारीहरुको तलब सुविधा रोक्दा समस्याले आन्दोलित बनेको लेखा अधिकृत चूडा बोहोराले जानकारी दिए । पटक– पटक तलब सुविधाका लागि ध्यानाकर्षण गराए पनि माग सम्बोधन हुन नसकेपछि सेवा ठप्प पारेको उनले बताए ।
तलब सुविधा रोकिँदा कर्मचारीलाई समस्या परेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । कर्मचारीलाई दसैँ पेस्कीसहितको तलब चाँडै उपलब्ध गराउन लागि परेको उनले बताए । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बिच गाउँ सभाबाटै दुरी बढेकोले प्रशासनिक कारोबार सञ्चालनमा अवरोध पुगेको उनको भनाइ छ । प्रमाणिकरण नभएका कारण सवै क्षेत्रमा समस्या देखिएको उनले बताए । दशैअघि वितरण गरिने सामाजिक सुरक्षा भक्ता समेतमा यसको प्रभाव पर्ने उनको बुझाइ थियो ।
वहुमत सदस्यले बजेट नीति तथा कार्यक्रम पास गरिसकेको पालिका उपाध्यक्ष डम्बर बहादुर गिरीले बताए । पारित गरेको कार्यक्रमलाइ प्रमाणिकरण गरेर अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले लैजानु पर्ने उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षको उपस्थिती विना गरिएको गाउँसभा कानुन विपरीत रहेको पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको भनाइ छ । बहुमतको दम्भले पालिका नचल्ने उनले बताए ।