बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा शहीद स्मृति शान्ति पार्कका लागि छुट्याइएको जग्गामा तोरीबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बनाउँदै गरेको खानेपानी ट्याङ्की निर्माण कार्य विवादमा परेको छ ।

ट्याङ्कीको निर्माण गर्दा मुख्य सरोकारवालासँग छलफल नगरिएको भन्दै स्थानीय लालबस्तीवासीले निर्माणको काम तत्काल रोक्न माग गरेका छन् । नेपाल सरकारको स्वीकृति बिना र मापदण्ड विपरित निर्माण भईरहेको टंकीले बस्ती बासीको सुरक्षामा खतरा बढाउने भएपनि तोरीबारी खानेपानी र नेकपाका केहि स्थानीय नेताहरु जसरी भएपनि ट्याङ्की बनाउन लागिपरेको स्थानिय डम्बरकुमार तुम्बाहाङफले आरोप लगाए । उनी भन्छन्,‘मापदण्ड अनुसार सडक तथा बस्ती वाट १ सय ५० मीटरको दुरीमा मात्र ठूला भौतिक संरचना बनाईनु पर्ने हो, तर यहां त बस्तीबाट २० फुट नजिकै ट्याङ्की बनाईदै छ ।’

सहिद स्मृति शान्ति पार्कका पूर्वअध्यक्ष समेत रहेका तुम्बाहाङफेले आफुहरुसँग कुरै नगरी ट्याङ्की बनाउन लागिएको बताए । उनले नेकपाका स्थानीय नेताहरु शहीद पार्कको जग्गा बेचीखान लागेको आरोप समेत लगाए ।

तुम्बाहाङ्फेले ट्याङ्की निर्माण रोक्न माग गर्दै उपभोक्ता समिति, जिल्ला प्रशासन कार्यलय सुनसरी र बराहक्षेत्र नगरपालिकालाई विपक्षी बनाएर असोज ९ उच्च अदालत, विराटनगरमा निवेदन दिएका थिए । न्यायाधिश नरिश्वर भण्डारीको एकल इजलासले असोज ११ गते ट्याङ्की निर्माण कार्य नगरी यथास्थितीमा राख्नु भनि विपक्षीहरुको नाममा अल्पकालिन आन्तरिम आदेश जारी गरेको थियो । तर उपभोक्ता समितिले अदालतको आदेश अटेर गरेर निर्माण कार्य जारी राखेको तुम्बाहाम्फे बताउँछन् ।

तोरीबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष डम्बर प्रसाद सिग्देल उपभोक्ताको साझा हितको लागि भनेर ट्याङ्की निर्माण गरिएको बताउँछन् । उनले ट्याङ्की निर्माणका लागि सबै संग सर्वपक्षीय छलफल गरेर स्थान हेरेर नै निर्णय गरेको बताए । उनका अनुसार २०७४ साल माघ १३ गते तत्कालिन माओवादी केन्द्र संग १० बुंदे सहमति भएको थियो ।

पहिला सहीद स्मृति शान्ति पार्कको सञ्चालक समिति रहेपनि हाल कुनै समिति छैन । सर्वपक्षिय छलफलका क्रममा पार्क सञ्चालक समितिको खोजि गरिएपनि हाल समिति नै नरहेको जानकारी पाएपछि तत्कालिन माओवादीका नेताहरुसँग छलफल गरेर काम अघि बढाएको उपभोक्ता समिति अध्यक्ष सिग्देल बताउँछन् । ‘अहिलेको पार्कको जमिन गाई भैंसी आहाल खेल्ने स्थान बनेको छ, यस्तो पार्कले शहीदको सम्मान गरेको छ, की अपमान ?’ उनी भन्छन्, ‘हामीले १० बुंदे सम्झौता भन्दा अझ बढि राम्रो पार्क बनाउने सोच बनाएका छौं ।’

उनले आफुहरु सबै कुरामा खुल्ला रहेको तर खानेपानी ट्याङ्की निर्माण बन्द गर्ने कुरामा सहमत हुन नसक्ने बताए ।
२०७४ माघ ५ गते माओवादी केन्द्रको वराहक्षेत्र १ र २ ले पनि ७ बुंदे शर्त सहितको ट्याङ्की निर्माण गर्न उपभोक्ता समितिलाई दिने निर्णय गरेको थियो । तत्कालिन माओवादी तथा हाल नेकपाका जिल्ला कमिटी सदस्य तुलसी पाण्डे अन्य कतै विकल्प नरहेको र शहीद पार्कको जग्गा सबैभन्दा उर्पयुक्त देखिएको हुँदा पानीको समस्या भोगीरहेका उपभोक्ताको हितमा नै सहमति गरेको बताउँछन् । उनी भन्छन्,‘त्यहीका व्यक्तिले जग्गा भोगचलन तथा किनबेच गर्दै आएका छन्, त्यो अतिक्रमण रोक्न पनि पानी ट्याङ्की र पार्क निर्माण हुनु आवश्यक छ ।’

निर्माण भईरहेको साढे ४ लाख लिटर क्षमताको खानेपानी लालबस्ती देखि पश्चिम तथा धरान चतरा सडक नजिक जोडिएर रहेको छ । नेपाल सरकारको खानेपानी तथा सरसफाई डिभिजन अन्तगर्त बन्न लागेको ट्याङ्कीको बजेट २ करोड १४ लाख उपभोक्ता समिति अध्यक्ष सिग्देलले बताए । ट्याङ्की निर्माणको जिम्मा काठमान्डौंको ठेकेदार सगरमाथा ड्रिलीङ्ग एण्ड कम्पनी लिएको छ ।

के हो त शहीद पार्क ?
साविकको बराहक्षेत्र गाविस–१ चतरा बजारका व्यापारी रामबहादुर ताम्राकार (रामचा)ले चर्चेको करिव ५ विघा ८ कठ्ठा १६ धुर जग्गालाई तत्कालिन विद्रोही माओवादीले कब्जामा लिएर वस्ती बसाएको थियो । त्यस ठाउँको नाम रह्यो ‘लालबस्ती’ ।

त्यही जग्गा मध्ये करिव ५ कठ्ठा स्थानिय शहीदहरुको नाममा पार्क स्थापनाका लागि छुट्याइएको थियो । २०६४ सालपछि शुरु भएको पार्क अहिलेसम्म लथालिंग अवस्थामा रहेको छ । सुरुमा वर्षै पिच्छे अध्यक्ष फेरिंदै आएको पार्क निर्माण उपभोक्ता समितिको काम भने प्रभावकारी बन्न सकेन । अहिले त निर्माण समिति समेत छैन ।

पार्कमा पर्खाल लगाउने, गेट लगाउने जस्ता केही काम भएका थिए तर अहिले ति संरचनाहरु पनि भत्किएका छन् । २०७१ सालमा बराहक्षेत्र नगरपालिकाले शहीद स्मृति पार्क संरक्षण समिति गठन गरि ५ लाख बजेट छुट्टयाएको थियो भने पार्कको पक्की पर्खालले घेराबेरा, माटो भर्ने, गेट निर्माण गर्ने आदि काममा स्थानियले दिएको चन्दा तथा नपाको अनुदान वाट प्राप्त ३० लाख भन्दा बढि खर्च भईसकेको दाबी गरिएको छ ।