धरान । धरान उप महानगरपालिकाका मेयर तिलक राईले पहिरो प्रभावित क्षेत्र धरानकाे वडा नं. २० आपटारकाे स्थलगत रुपमा निरीक्षण गरेका छन् ।
निरिक्षणका क्रममा उनले पहिराेका कारण विस्थापित भएका सात घरपरिवारलाई भेट गरी उपमहानगरपालिकाले चाडै नै उपयुक्त जग्गाको खोजी गरी विस्थापित भएका परिवारलाई स्थानान्तरण गरिने विश्वास व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस वडा नं. २० का कार्यसमितिले पहिरोबाट विस्थापित भएका परिवारलाई आज नगद ६५ हजार रुपैयाँ संकलन गरेको रकम पीडित परिवारलाई हस्तान्तरण गर्दै सो कुरा बताएका हुन् ।
‘विस्थापित भएका परिवारका लागि उपयुक्त जग्गाको खोजी भईरहेको छ’ मेयर राईले भने । मेयर राईले पीडित परिवारलाई सबैले सहयोग गर्न पनि आग्रह गरेको छ ।
पहिरोबाट सत्यकुमार राई, बस्तीलाल राई, सवलमान राई, वीर कुमार राई, रामकुमार राई, नन्दलाल यादव र रामकुमार राईको परिवार विस्थापित भएका छन् । अहिले उनीहरूलाई सुरक्षित स्थानमा सारेर टेन्टमा राखिएको छ ।
मेयर राईसँग धरान वडा नं. १८ का वडाअध्यक्ष प्रविन राई (नरेन्द्र), नेपाली कांग्रेस जिल्ला सदस्य पदम लिम्बु, नेका वडा नं. २० का बुथ सभापति राम कुमार तामाङलगायतको उपस्थिति रहेको थियो ।