ताप्लेजुङ/ आफ्नै ठूलो बुबाको तीनजना परिवारमाथि बाम्फोक प्रहार गर्ने २२ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका छन् ।

बुधबार राति सुतिरहेको अवस्थामा बाम्फोक प्रहार गरी फरार रहेका सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका लाक्पालाई बिहीबार याम्फुदिनबाटै पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । उनी पराल राख्ने खोल्मामा सुतिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनले बुधबार राति ६१ वर्षीया ठूलीआमा फुटि भोटे, ३६ वर्षीय दाजु पासाङ भोटे र १८ वर्षीय भाइ लाक्पा छिरिङ भोटेमाथि आक्रमण गरेको वडाध्यक्ष टसी लामाले बताए ।

लामाका अनुसार घाइते सबैको अवस्था चिन्ताजनक छ । भारतसँगको सीमावर्ती क्षेत्र भएकाले अभियुक्तको खोजीका लागि रातिदेखि नै पाँचथरको चिवाभञ्ज्याङ र ताप्लेजुङका सबै नाकामा प्रहरी परिचालन गरिएको थियो । उनलाई बिहीबार साँझ इलाका प्रहरी कार्यालय तेल्लोकमा ल्याइपु¥याएको छ । थप कानूनी कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय ल्याइने प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

हेलिकप्टरमार्फत् काठमाडौं लैजान खराब मौसमका कारण समस्या
यसैबीच घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लैजान खराब मौसमका कारण समस्या भएको छ । मौसममा आएको खराबीका कारण हेलिकप्टर बिहीबार बेलुकासम्म आउन सकेन ।

उच्च रक्तश्रावका कारण ३ जनाकै ज्यान जोखिममा पर्ने अवस्था भएपछि उनीहरूलाई उद्वार गरी काठमाडांै लाने तयारी गरिएको थियो । बाम्फोक प्रहारबाट उनीहरूको टाउको तथा गर्धनमा गहिरो चोट लागेको छ । घाउ सिलाउन सक्ने अवस्था नभएकोले घाइतेहरूको रक्तश्राव भइरहेको प्रहरीले जनाएको छ ।

थप उपचारका लागि गाउँपालिकाको केन्द्र तेल्लोकबाट एचए सहितको टोली पठाइएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए । तेल्लोकबाट याम्फुदिन पुग्न कम्तीमा आठ घण्टा लाग्छ । घटनास्थलबाट मान्छेले बोकेर ल्याउँदा गाडीे भएको हप्पुखोलासम्म पु¥याउन एकदिन पूरै लाग्ने वडाध्यक्ष टसी भोटेले जानकारी दिए ।

वडाध्यक्ष भोटेका अनुसार हेलिकप्टरलाई पर्खनुको विकल्प छैन । ‘हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरेका थियौँ । दिनभर हेलिकपटर पर्खंदा पनि मौसम खराबीका कारण आउन सकेन’ वडाध्यक्ष भोटेले भने, ‘घाइतेहरूको अवस्था चिन्ताजनक नै छ । अहिले यहीँको स्वास्थ्यचौकीमा राखेर उपचार गरिरहेका छौँ ।’