विराटनगर/ विराटनगरको सीमावर्ती भारतीय बजार जोगवनी गएर नेपाल प्रवेश गर्नेहरूलाई सुरक्षामा खटिएका प्रहरीले क्वारेण्टिनमा लैजान प्रहरीको ‘वानटेन’ गाडी सीमा नाका विराटनगर–१७ इस्लामपुरमा राखेपछि भागाभाग भएको छ ।

इस्लामपुरको नाका हँुदै विराटनगरदेखि पूर्वका विभिन्न शहरका उपभोक्ताहरू बुधबार सीमावर्ती भारतीय बजार जोगवनी गएका थिए । चोरबाटो हुँदै गएर फर्किनेहरूलाई क्वारेण्टिनमा लैजान सशस्त्र प्रहरी बल बिओपी रानीले इस्लामपुर नाकामा गाडी राखेको थियो । प्रहरीले क्वारेण्टिनमा लगेर दुई साता राख्ने गरेको चाल पाएपछि भारतीय बजार गएकाहरू भागाभाग भए । चोरबाटो हुँदै लुकीछिपी भारतीय बजार गएकालाई नियन्त्रण्मा लिएर क्वारेण्टिनमा राख्न सशस्त्र प्रहरी बल बिओपी रानी विराटनगरका सशस्त्र प्रहरीका इन्स्पेक्टर मौसम पोखरेल नेतृत्वको टोली परिचालन भएको थियो ।

‘करिब २ सयको सङ्ख्यामा भारतीय बजार गएका नेपालीहरू सीमा नाका इस्लामपुरमा जम्मा भएका थिए । सशस्त्र प्रहरीले क्वारेण्टिनमा लैजान ठूलो वानटेन गाडी सीमा नाकामा राखेपछि जम्मा भएकाहरूको भागदौड भयो’ सीमा नाकाका एक प्रत्यक्षदर्शीले भने, ‘कोही भारतर्फ नै भागे, कोही नेपाल छिरे । कतिको खरिद गरेको सामान भागदौडमा भारत–नेपालको सीमा नाका इस्लामपुरको खोलाले बगायो ।’

खुल्ला सीमाको कारण प्रहरीको आँखा छल्दै अहिले भारतीय बजारमा नेपालीहरू उपभोग्य सामग्री खरिद गर्न जाने बढेको बताइएको छ । अहिले विराटनगरसहित सुनसरीसम्मका नेपाली नागरिक भारतीय बजारमा सामग्री खरिद गर्न जाने गरेका छन् ।

महामारीको रूपमा फैलिएको कारोना भाइरसको रोकथाम र नियन्त्रणको लागि राज्यले नेपाल र भारततर्फको सीमा नाका सिल छ । नाका सिल गरेको भए पनि प्रहरीको आँखा छल्दै खुल्ला सीमाको फाइदा उठाउँदै विराटनगरको सीमावर्ती बजार जोगवनीमा दैनिक उपभोग्य वस्तुदेखि विभिन्न सामग्री खरिद गर्न उपभोक्ताहरू जाने गरेका छन् । प्रहरीको आँखा छलेर सीमावर्ती भारतीय बजार गएर नेपाल प्रवेश गर्नेलाई सुरक्षामा खटिएका प्रहरीले क्वारेण्टिनमा लगेर राख्न थालेको छ ।

प्रदेश १ का चारवटा नाकाबाहेक नेपाल प्रवेश गर्नेलाई प्रहरीले क्वारेण्टिनमा राख्ने गरेको हो । प्रदेश १ को अहिले मोरङको जोगवनी, सुनसरीको भण्टाबारी, झापाको काँकडभिट्टा र इलामको पशुपति नगर नाकाबाहेक आवत–जावतमा पूर्णरूपमा रोक लगाएको छ । यी नाका प्रयोग गर्दा पनि अहिले स्थानीय प्रशासनको सिफारिस अनिवार्य तोकिएको छ ।

सरकारले तोकेको नाका बाहेक सुरक्षार्कीको आँखा छल्दै आवत–जावत गर्नेलाई दुई साता क्वारेण्टिनमा राख्न सुरू गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । भारतसँग जोडिएको सीमा क्षेत्र मोरङमा ६३ किलोमिटर रहेको छ । जसमा ३६ वटा नाका रहेको छ । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्यदेखि विभिन्न सामग्री खरिद गर्न उपभोक्ताहरू भारतीय सीमावर्ती बजार जाने क्रम बढेको छ । भारतमा तीव्ररूपमा सङ्क्रमण फैलिरहेको अवस्थामा पनि नेपालीहरू सीमावर्ती बजार जाने गरेका छन् ।

‘सीमा नाका बन्द गरिएको अवस्थामा भारतीय बजार जानेहरूलाई सुरक्षामा खटिएको सुरक्षाकर्मीले फकाउर्ने गरेका छन् । प्रहरीको आँखा छलेर कतैबाट भारत गएर नेपाल फर्किएकोे फेला पारे क्वारेण्टिनमा राखिन्छ’ मोरङका प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘स्थानीय तहले बनाएको क्वारेण्टिनमा दुई साता राखेपछि पीसीआर परीक्षण गरेपछि रिपोर्ट नेगेटिभ आए मात्र घर जान दिइनेछ । पोजेटिभ आएको खण्डमा आइसोलेसनमा राखेर उपचार हुन्छ ।’