धनकुटा/ जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं.८ शिरिषेमा बुधबार अपरान्ह पहिरोले घर भत्काउँदा घरले किचिएर एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी १ जना घाइते भएका छन् भने २ चौपाया पुरिएको जनाइएको छ । केही दिनदेखि परेको भारी वर्षाको कारण पहिरो झर्दा शिरिषेका स्थानीय वीरबहादुर लिम्बूको घर भत्किँदा उनको ७ महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ताले जानकारी दिए । दिउँसोको समयमा घरमा खाना खाँदै गर्दा एक्कासि झरेको पहिरोले घर भत्किँदा लिम्बूको सात वर्षीया छोरीको घटना स्थलमै मृत्यु भएको हो ।

पहिरोमा परी ३१ वर्षिय धनबहादुर लिम्बू पनि घाइते भएका छन् । उनको स्वास्थ्य खतरामुक्त रहेको जनाइएको छ । ढुङ्गा माटोले बनेको २ तले घरमा पहिरो खसेको थियो । पहिरोले वीरबहादुर लिम्बूको १ गोरु र १ भैंसी पुरिएर मरेको प्रहरीले जनाएको छ ।