भद्रपुर । झापाको हल्दीबारीमा काँङ्ग्रेस र राप्रपा पार्टी परित्याग गरी तीनसय भन्दा बढी नेकपामा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा हल्दीबारी २ र ४ का कबड्डीका राष्ट्रिय खेलाडी अमृत मेचे, खड्ग राजवंशी, ४ का फुटबल खेलाडि सन्तोष मादेन, हल्दीबारी ३ का सामाजिक अभियान्ता अभिषेक खतिवडा र बिजय मेचे नेकपामा प्रवेश गरेका हुन् ।

विहीबार भएको कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपा झापा जिल्ला कमिटी सदस्य एवंम् क्षेत्र न ३ ख का सचिव नरेस चुडाल, नेकपा हल्दीबारी इन्चार्ज धर्म शिवाकोटी, जिल्ला कमिटी सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी, जिल्ला सल्लाहकार सदस्य एवंम् तत्कालीन हल्दीबारी गाविस अध्यक्ष मोहनचन्द्र रेग्मी लगायतले टीका र खदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा झापाका सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले नेपाल कम्युनिस्ट पार्टी कस्तो पार्टी हो भन्ने कुरा अहिले हल्दीबारीमा भइरहेका विकासका कामहरुले प्रष्ट पारेको बताए । उनले नेकपाले सबै युवाहरुलाई योग्यतामा र क्षमताको आधारमा व्यवस्थापन गर्ने बताए ।

नेकपा हल्दीबारी ३ का इन्चार्ज विष्णु प्रसाद ओलीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन नेकपा झापा जिल्ला प्रचार तथा प्रकाशन विभागका सदस्य सागर पोर्तेलले गरेका थिए भने नेकपा हल्दीबारीका कार्यालय सदस्य महेशलाल मेचेले स्वागत मन्तव्य राखेका थिए । हल्दीबारीमा बजेटको विषयलाइ भइरहेको राप्रपाबाट निर्वाचित पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन र नेकपाबाट निर्वाचित उपाध्यक्ष डम्बर बहादुर गिरीका बिच हालसम्म जारी रहेको विवाद पार्टी प्रवेशले उथलपुथल हुने बुझिएको छ ।