विजयपुर । सरकारले लागू गरेको भाडा दर र स्वास्थ्य सुरक्षाका विपरीत यातायात सञ्चालन भइरहे पनि धरानको ट्राफिक प्रहरी यसबारे बेखवर छ । ट्राफिक प्रहरीले चासो नदिँदा यात्रुहरू मारमा परेका छन् ।

सरकारले यातायातका साधनको क्षमताभन्दा ५० प्रतिशत कम यात्रु बोक्नुपर्ने र भाडा पनि निर्धारित दरभन्दा ५० प्रतिशत बढीसम्म लिनुपर्ने व्यवस्था गरेको छ तर यातायात व्यवसायीले त्यसविपरीत क्षमताभन्दा बढी नै यात्रु बोक्ने गरेका छन् । भाडादर भन्दा दोब्बर (१०० प्रतिशत) नै बढि लिने गरेका गुसानाे यात्रुहरूले गरेका छन् । 

बुधबार सुम्निमा ट्राभल्स गाडीमा आएका विकेश लिम्बूले दोब्बर भाडा तिरेको गुनासाे पाेखे । उनले भने ‘गाडीभरि यात्रु हालेको छ, भाडा पनि डबल छ, स्वास्थ्य सुरक्षाका सामग्री पनि छैन, ट्राफिक प्रहरीको चेक पनि काहीँ गरेन, हिँड्नै प¥यो के गर्नु ।’

इटहरीबाट सलमान गाडीमा आएका कुवेर तामाङले भाडा ६० रुपैयाँ तिरेको बताए । उनले भने, ‘पहिले ३० रुपैयाँमा हिँडिन्थ्यौ, अहिले डबल भन्दै ६० लिए ।’ यता सोही गाडीका सहचालकले भने पानी परेको र पर्याप्त सवारीसाधन नभएकाले क्षमताभन्दा बढी यात्रु बोकेको स्वीकारे । भाडा पनि दाेब्बर लिएको स्वीकारे । 

ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख अञ्जन कोइरालाले भने चेक गरिरहेको दाबी गरे । ‘३ र ४ गते हामीले चेक गरेर केहीलाई सम्झायौ ।’ उनले थपे, ‘यातायात व्यवसायी, यातायात मजदुर राखेर स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्नु भनेका छौँ ।’

तर यातायात व्यवसायीले गाडीमा क्षमताभन्दा बढी यात्रु बोकिरहेका छन् भन्दा उनले थपे, ‘सँधै चेक हुँदैन, छड्के चेक गर्दा १ पटक भए सम्झाउँछौँ र दोहोरिएको पाइयो भने ट्राफिक कार्यालय पठाउँछौ ।’ उनले भाडाको विषयमा यात्रुको गुनासो नआएको बताए ।

५० प्रतिशतभन्दा बढी भाडा लिने यात्रुले गाडीसहित गुनासो आए भाडा फिर्ता गराउने र १५ सयदेखि २ हजारसम्म जरिबाना तिराउने बताए तर त्यस्ता गुनासा हालसम्म नआएको उनले बताए । उनले भने, ‘यसमा यात्रु पनि सचेत रहनुपर्छ । धेरै भाडा लिएमा प्रहरीलाई खबर गर्न आग्रह गर्छु ।’